Shittalpati
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी

रामचन्द्र रायमाझी
पाल्पा, परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल जिल्लाभर १८ वटा उपशाखामार्फत विपत् र महामारीको क्षेत्रमा काम गर्दै आएको छ । रेडक्रसले कोभिड–१९ को सुरुआती दिनदेखि यसबारेमा सचेतना तथा रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ ।

उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रण र विपत्मा नै लगाएको छ । महामारीको पहिलो चरणमा रेडक्रसले पाल्पाका १० वटै स्थानीय सरकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीमा सहयोग गरेको थियो । उसले माक्स, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि झोला, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री स्थानीेय सरकारलाई सहयोग गरेको छ । पाल्पा कोरोनाको ‘हट स्पट’ बनिरहेका बेला रेडक्रसले कोरोनाबाट जोगिने उपायका बारेमा सचेतना, क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा मनोसामाजिक परामर्श, अग्रपंतिमा रहेर काम गर्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरुलाई समेत सुरक्षा सामग्री उपलब्ध गराएको थियो । सबै क्षेत्र महामारीबाट प्रभावित भएका बेला रेडक्रसले सहयोगी भूमिका खेल्दै आएको रेडक्रस पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले बताए । कोरोना महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्नेदेखि प्राकृतिक विपद्मा परेकाहरुका लागि तत्काल राहत र उद्दार कार्यमा रेडक्रस लागि परेको उनी बताउँछन् । कोभिड–१९ बाट प्रभावितलाई सेवा प्रवाह गर्ने क्रममा अहिले पनि जिल्लाका स्वयंसेवकले आफ्नो स्वास्थ्यलाई जोखिममा राखी निरन्तररूपमा मानवीय सेवामा खटेको उनको भनाई छ ।

कोरोनाको तेस्रो लहर समेत आउने विज्ञहरुले बताइरहेकाले त्यसको पूर्व तयारी समेत रेडक्रसले गरेको सभापति शर्माले बताए । नेपाल रेडक्रस सोसाइटीलाई मानव सेवाको क्षेत्रमा पारदर्शी र विश्वसनीय संस्थाको रूपमा स्थापित गर्न आफुहरु सधै जिम्मेवारीपूर्वक लागेको रेडक्रस पाल्पाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्कीले बताए । उनले आफुहरु विपद्का बेला जति बेला पनि अग्रपंत्तिमै रहेर काम गर्ने गरेको बताए । जिल्लाका ठूला अस्पतालहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री समेत उपलब्ध गराएको रेडक्रसका कार्यक्रम अधिकृत विनोद भारतीले बताए । उनका अनुसार रेडक्रसले पाल्पा अस्पताल र मिसन अस्पतालका लागि एक/एक थान अक्सिजन कन्सन्ट्रेटर र रामपुर अस्पतालका लागि अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । रेडक्रसले एम्बुलेन्स व्यवस्थापनका लागि पनि समन्वय र सहकार्य गर्दै आएको भारतीले बताए । मानिसहरुलाई जथाभावी हिँड्डुल नगर्न, हिँड्नै परेमा अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने विषयमा सचेतना वृद्धि गर्न उपशाखाका स्वयमसेवकहरुलाई खटाइएको रेडक्रसले जनाएको छ । त्यसैगरी, रेडक्रसले युवा सर्कल र स्वयमसेवकहरुसँग सहकार्य र समन्वय गरी रक्तदानका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । रेडक्रसले पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई राहत समेत उपलब्ध गराउदै आएको छ । उसले केही महिना अघि तिनाउ गाउँपालिका – ५ हिउँदे खोलामा गएको पहिरोले ज्यान गुमाएका ५ घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराएको थियो । त्यस्तै रेडक्रसले पहिरोमा परी ज्यान गुमाएका रिब्दीकोटको भैवस्थान र तानसेन कैलाशनगरका दुई घरमा पनि राहत पुर्‍याएको थियो । रेडक्रस पाल्पाले पनि शनिबार विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाएको छ । नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ । परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’ को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । रेडक्रसले समुदायमा विपद् प्रतिकार्य (राहत, उद्धार, पुनर्लाभ), रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार तथा आँखा उपचार, खानेपानी सेवालाई निरन्तर जारी राखेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update