Shittalpati
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ७, रामपुर नगरपालिकाका ६, पूर्वखोला गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका २, तिनाउ गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ४ सय ६३ पुगेको छ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् । परीक्षणको आधारमा संक्रमितको संख्या ओरालो लाग्ने क्रममा छ ।

आइतबार जिल्लाका १२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणमा ४४ जनाको परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका ४/४ जना, तिनाउ गाउँपालिकाका १ र निस्दी गाउँपालिकाका २ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ८९ पुगेको छ । जसमा २ हजार ३ सय ३९ महिला र ३ हजार ७ सय ५० जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । १० जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ६ सय ३० पुगेको छ । जसमा १ हजार ८ सय ७५ जना महिला र १ हजार ७ सय ५५ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ । जसमा १८ जना होम आइसोलेसनमा रहेका छन् भने २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update