आज कुसे औंसी अर्थात् पितृलाई सम्झने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अमावश्यालाई कुसे औंसी भनिन्छ । आजको दिन प्रत्येक धार्मिक कार्यको लागि अति आवश्यक पवित्र तृण अर्थात् घाँस याने कुसलाई विधिपूर्वक मन्त्रोच्चारण गरी घरमा भित्राइन्छ । वास्तवमा कुस एक प्रकारको झार हो जसलाई भगवान श्री विष्णु मानेर पूजा गर्द छन । शास्त्र अनुसार यस दिन कुस उखेलेर घरमा ल्याउने परम्परा छ । परम्परा अनुसार श्रावण शुक्ल चतुर्दशीको दिन कुस रोपिन्छ भने कुसे औसीको दिन कुस काटिन्छ । यज्ञ यज्ञादी र श्रद्धा कर्ममा तथा विभिन्न संकल्प आदि गर्दा अथवा दान पुण्य गर्दा जौ, तिल, कुस तथा जल हातमा लिएर गरिएको कर्म अक्षय हुन्छ भनिन्छ । पितृलाई तर्पण गर्दा, पिण्डदान गर्दा, त्यस्तै गरी अन्नदान गर्दा कुसको मोटक (कुसको औंठी जस्तो बनाएको) लगाएर मात्र पैतृक कार्य गरे सफल हुन्छ भनेर धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । ऋषि पञ्चमीको दिन महिलाहरुले सप्तर्षिहरुको पूजा गर्दा कुस कै टुक्रालाई प्रतिक मानि पूजा गर्दछन् । कुसको उत्पत्ति बारे धार्मिक ग्रन्थहरुमा विभिन्न कथनहरु पाइन्छन । भनिन्छ भगवान श्री विष्णुले पृथ्वीको उद्दारको लागि वराह अवतार लिएर बलशाली कश्यप पुत्र हिरण्याक्ष सित लामो लडाई गरी उनको बध गरी एकछिन समुन्द्र किनारमा आराम गर्दा भगवान विष्णुको शरिरबाट झरेको रौं नै कुस भएको भनिन्छ । अर्को कथन स्वस्थानी ब्रतकथा अनुसार जालन्धर नामको दैत्यलाई मार्न विष्ण्ुाले छल गरी जालन्धरको पतिव्रता पत्नि बृन्दाको सतित्व हरण गरे पछि शिवले शक्तिशाली जालन्धरलाई मार्न सफल भएका थिए । आफुलाई जालन्धरको रुप धारण गरेर विष्णुले छल गरी आफ्ना पतिव्रत नष्ट गरेकाले पतिब्रता बृन्दाले विष्णुलाई घाँस, झार, रुख र ढुङ्गा हुनु परोस् भनेर श्राप दिएकी थिइन् । त्यसैको प्रतिफल स्वरुप विष्णुलाई झारको रुपमा तुलसी, रुखको रुपमा पिपल, ढुङ्गाको रुपमा शालिग्राम तथा घाँसको रुपमा कुस हुनु परेको थियो । कुनै पनि शुभकार्य गर्दा नभई नहुने वस्तुको रुपमा कुसलाई लिइन्छ । त्यसैले यसलाई घर–घरमा सुरक्षितका साथ राख्ने गरिन्छ । हरेक महिनाका दुई पक्ष हुन्छन् शुक्ल पक्ष र कृष्ण पक्ष । भनिन्छ शुक्ल पक्ष देवी देवताको उपासना गर्नलाई भने कृष्ण पक्ष पितृहरुको उपसनाको लागि अति उत्तम मानिन्छ । भाद्र महिनाको कृष्ण पक्षलाई अझ बढी महत्व दिइएको छ किनकी यस दिन पवित्र झार कुस काटिन्छ अर्को तिर यस दिन आफ्ना पितृको मोक्षको लागि पवित्र स्थल गोकर्ण वा नदिहरुमा गई पितृलाई सम्झेर श्राद्ध दान इत्यादि गर्छन् ।
यस दिन गोकर्ण भन्ने ठाउँमा गई वाग्मती नदिमा स्नान गरी आफ्ना पितृलाई सम्झेर श्राद्ध दान इत्यादी गर्दछन् । गोकर्णेस्वर महादेव उत्पत्ति भएको यस ठाउँलाई गोकर्ण भनिन्छ जुन काठमाडौंको उत्तर पूर्वमा रहेको छ । यस दिन यहाँ मेला पनि लाग्दछ । गोकर्णेश्वर वास्तवमा भगवान शिवको एउटा अर्को नाम हो । धार्मिक ग्रन्थ अनुसार एकपटक श्री महादेव वनविहार गर्न एक सिंगे मृगको रुप धारण गरी मृत्यलोकमा आउनु भएको थियो ।
भगवान शिवलाई कैलाशमा नदेखेर विष्णु ब्रम्हा तथा इन्द्रले खोजी गर्दै जाँदा मृत्यलोकमा मृगको रुपमा रहेको थाहा पाई सो ठाउँमा गई एक सिंगे मृगलाई समात्न खोज्दा सिंग तीन टुक्रा भए पछि चिन्तित रहेका देवताहरुलाई भगवान शिवले ती सिंगका तीन टुक्रा स्वर्ग, मृत्यलोक तथा पातालमा स्थापना गर्नु भन्नु भए पछि ब्रम्हाको हातमा परेको सिंगको एक टुक्रा भगवान शिवकै आदेशानुसार काठमांडौको बाग्मती किनारमा स्थापना गरियो र यो ठाउँ गोकर्णेश्वर लिंगलाई हरिणरुप शिवको अंशबाट पैदा भएको भनि गोकर्णेश्वर महादेवको नामले गोकणर््ा भन्ने गरिएको भनिन्छ ।
श्रद्धालु भक्तजनहरु यस गोकर्णेस्वरमा गई बाग्मती नदिमा स्नान गरी शुद्ध भई आफ्ना दिवंगत पितृको सम्झनामा श्राद्ध, पितृतर्पण तथा सिधादान आदि गर्दछन् । यसो गर्दा एकातिर आत्म कल्याण हुन्छ भने अर्को तिर पितृ तृप्त हुन्छ भन्ने विश्वास गर्दछन् । यस भाद्र औसीको दिन आफ्ना मृत पिताको सम्झना र शान्तिका लागि पुण्य तिर्थस्थल उत्तरवाहिनी वाग्मतीमा गई पवित्र भई भगवान गोकर्णेश्वर श्री शिवको पूजाआजा गर्ने तथा पितृलाई पिण्डदान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने विश्वासले पनि यस दिन पवित्र स्थलको महत्व रहेको हो ।
यस दिन आफना सजिव पितालाई छोरीछेरीहरुले श्रद्धा तथा सम्मानपूर्वक पूजा गर्ने मुख हेर्ने गर्दछन् । वैदिक परम्परामा पिता, माता तथा गुरु र अतिथिलाई जीवित देवता मान्ने गरिन्छ । यो पर्व आफ्ना पिता अर्थात् बाबु प्रति सम्मान र श्रद्धा प्रकट गर्ने पर्व हो । बाबुलाई प्रत्येक व्यक्तिको जीवनको पहिलो गुरुको रुपमा मानिन्छ भने रक्षक तथा पालनकर्ताको रुपमा पनि मानिन्छ । त्यसैले पिताप्रति श्रद्धाभाव राख्नु प्रत्येक छोराछोरीको कर्तव्य हुन आउँछ । संसारको सृष्टिक्रममा आमाले सन्तानलाई जन्म दिने, लालनपालन गर्ने, हुर्काउने तथा पिताले शिक्षादीक्षा दिएर योग्य बनाउने गर्दछन् । त्यसैले पनि आफूलाई जन्म दिने माता पिता प्रति कृतज्ञ भई आदर सत्कार गर्ने गरिन्छ । आफना आमाबाबु जीवित छँदा सेवा सत्कार गर्नु आवश्यक हुन जान्छ । अतः यस पितृ औशीको दिन आफ्ना पितालाई सन्तानहरुले मीठा मीठा परिकार, लुगा कपडा तथा अन्य विभिन्न उपहारहरु दिई बुबाको आदर सम्मान गर्दछन् । जीवित पिता प्रति सन्तानले आदरका साथ विभिन्न मिष्ठान्न र वस्त्रादी समर्पित गर्दै सम्मान गरी आशीष पाउने हुँदा यो दिन पितृ दिवस पर्वबाट पनि चर्चित भएको छ । आफ्ना आमा बाबुको सन्तुष्टिका लागि कुनै चीरस्थायी सम्मानको भावना जागृत गर्नु यस्सको पवित्र ध्येय रहेको देखिन्छ । बाबुआमालाई ढोगभेट र अभिभादन गर्ने उनीहरुको मन परेको कुरा खुवाउने, स्नेह र आदर व्यक्त गर्ने कार्यले परिवारमा मातापिता र सन्तान बीचको सम्बन्धलाई थप प्रगाढ र सौहार्दपूर्ण बनाउँदछ । पिताले पनि आफ्ना सन्तानलाई सुख, सम्वृद्धि तथा दीर्घायूको आशिष दिई सुरक्षाको अनुभूति गराउँछन् ।
तानसेनमा आफ्ना पिताको श्रद्धा गर्न कोही कोही राम्दी, रिडी आदि पवित्र नदिहरुमा पुग्दछन् तथा ब्राम्हणबाट पूजापाठ गराउँछन्, सिदा दान गर्दछन् । कसै कसैले घरै नै यस्ता कार्यहरु गर्दछन् । यो कार्य सकिए पछि सन्तानहरुले आफना पितालाई श्रद्धापूर्वक पूजा गर्ने गर्दछन्, सम्मान गर्दछन्, मीठा मीठा खानेकुराहरु खुवाउँछन् तथा आफ्ना पिताबाट आशीर्वाद लिन्छन । अस्तु ।
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)