Shittalpati
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ८ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ६, रामपुर नगरपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका १, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकाका २/२, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ४ सय ९५ पुगेको छ । मंगलबार जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणमा ३० जनाको परीक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ९९ पुगेको छ । जसमा २ हजार ३ सय ४४ महिला र ३ हजार ७ सय ५५ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ६ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २, पूर्वखोला, रम्भाका १/१, बगनासकाली, तिनाउ, रिब्दीकोटका २/२ र तानसेनका १४ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ६ सय ५६ पुगेको छ । जसमा १ हजार ८ सय ९० जना महिला र १ हजार ७ सय ६६ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । जसमा २२ जना होम आइसोलेसनमा रहेका छन् भने २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update