आजको काठमाडौं शहर बस्नु भन्दा पहिला यो खाल्डो दह थियो । पानीले भरिभराउ जहाँ थरि–थरिका नागहरुले बास गरेका हुन्थे । हेर्दैमा डरलाग्दो यो दहमा विपस्सी बुद्ध (तथागतले) कमलको विउ रोपिदिए । कालान्तरमा सहस्रदल भएको कमलको फूल फुल्यो । त्यस कमलको फूलमा ज्योती स्वरुप स्वयम्भू उत्पति भएको खबरले महाचिनबाट महा मञ्जुश्री दर्शन गर्न नेपाल आए । दर्शन, पूजा, अर्चना पछि त्यस दहलाई आफ्नो चक्रले डाँडाकाटी पानी बाहिर पठाए । त्यसपछि मञ्जुपट्टन शहरको निर्माण गरी महायान बौद्ध धर्मको प्रचार–प्रसार गरेको कुरा स्वयम्भू पुराणमा उल्लेख छ । त्यो ज्योति रुप स्वयम्भूलाई महायानको गुरु शान्तिकार्चायले चैत्यकारले छोपी महाचैत्य निर्माण गरे । यस कुराले काठमाडौं खाल्डोमा शहर निर्माण भएसँग –सँगै चैत्य पूजा गर्ने चलन सुरु भएको पाईन्छ ।
यही चैत्य प्रदक्षिणा गर्ने क्रममा श्रावण महिना भरि गरिन्छ । यसलाई गुँला धर्म भन्ने चलन रहेको छ । यस महिना चैत्य सेवा परिक्रमा गर्ने कुरा श्रृङ्गभेरी अवदानमा यसरी लेखिएको छ । सत्ययुगमा शशीपट्टन नगरको सिंहकेतु राजाले जंगलमा बसोवास गर्ने पशु चौपायलाई मारेको पापले मरिसकेपछि अर्को जुनीमा राँगो भएर जन्म लिए । त्यो राजालाई आफ्नी श्रीमतिले प्राणी हिंसा नगर्न धेरै अनुरोध गरेकी थिइन् । हत्याहिंसा रोक्ने प्रयासको फल स्वरुप मृत्युपछि ब्राह्माण कालमा रुपवती नामक ब्राह्मणी भएर जन्म लिईन । संयोग यस्तो भयो कि ब्राहमाणको घरमा पालिराखेको भैँसीबाट बाछोको रुपमा जन्म भएको कुरा माथि लेखिएको छ । त्यहि राँगोलाई रुपवतीले जंगलमा चराउन लाने गर्थिन । एकदिन राँगोलाई जंगली जनावरले मारेर खाएको देखिेपछि दुःखले भावविÞव भई रोई, कराई रहँदा, ‘सुपारंस’ बोधिसत्व आई मृत रागो पूर्वजन्म तिम्रै पति हुँ भनेर वृतान्त कुरा सुनाए । त्यसको उद्धार गर्न सबै हाड जम्मा गरी चैत्य निर्माण गरी त्यसभित्र सबै हाडखोर चैत्य भित्र राख्न लगाए । भने जस्तै गरी तीन हप्तासम्म एउटा सिङ्गले पानी ल्याई तर्पन गर्नु र अर्को सिङ्गले सिङ्ग भेरी गर्नु भनेपछि । बोधी सत्यले भनेजस्तै रुपवती ३ हप्तासम्म नित्य गरिन् । त्यहि सिङ्गबाट राजाको नयाँ जन्म भयो । त्यहि कारणले श्रावण महिना गुँला भरी चैत्य परिक्रम गरिसि·को साथै अनेक बाजा बजाउने चलन चलेको पाइन्छ । यसरी चैत्य परिक्रम गर्दा नाम संगीति स्त्रोत पाठ गरेको पुण्यले नरक भोग गरेकाहरुको पनि उद्धार हुन्छ भन्ने कुरा ‘सर्वज्ञमित्रावदान’ मा उल्लेख गरेको पाईन्छ ।
भाषा वंशावलीको अनुसार राजा विक्रम देवले बौद्ध धर्म अनुयायीहरुको निम्ति श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म बौद्ध यात्रा (गुँला पर्व) गर्ने चलन चलाएर गएको पाइन्छ । तर राजा विक्रम देव भन्दा पहिला राजा बालार्जुन देवले पाटनमा नौं मति बाजा श्रावण महिनामा पर्ने मतया :यात्रा र सिङ्गजात्रा (सिङ्गभेरी जात्रा) मा अनिवार्य रुपमा बजाउने चलन चलाएका थिए । सि· बाजा बजाउँदा (महिनाभरी) खेरी मृत आत्माको उद्धार भएको र यो महिना भरी चैत्य परिक्रममा गर्दा देशमा हुन लागेको भयंकर महामरी अनेक रोगहरुबाट पनि मुक्त भइन्छ भन्ने जनविश्वास रहेको छ । यो श्रावण महिनाभर विभिन्न पर्व पर्छ जस्तै :– श्रावण शुक्लपञ्चमी (नाग पूजा), अष्टमीमा यलपञ्चदान (पाटनमा), द्वादशीका दिन, टोल–टोलको वाहा वाहीमा वही द्यो : (दिपंकर तथागत देखाउने) । जनैपूणिर्मा (गुन्हीपुन्ही) तथा अन्य देवी देवताको यात्रा कुम्भेश्वर मेला पनि पर्छ । भाद्र कृष्ण पक्षमा गाईजात्रा (सापारु) द्वितियामा पाटनमा मतयाः यात्रा, अष्टमी (कृष्ण जन्माष्टमी) यें पञ्चदान (जुगपञ्चदान, जुगादी काठमाडौं) पनि पर्छ । गुँला धर्म किन शुरु गर्नु पर्यो भन्दा कलियुग एक लाख वर्ष पुग्ने बेलामा संसारमा प्रलय हुने यहि श्रावण (गुँला) मा अति जलवृष्टि भइरहने छ । रात्रिको समय जाग्राम बसि बुद्धको निज्ञन्त स्मरण गरी श्रृङ्गभेरी गर्दै वुद्धालय (चैत्य परिक्रमा) गर्यो भने प्रलय हुने (काल) समय पछि सार्न सकिन्छ, भनिन्छ । माथिको कुरालाई विचार गर्ने हो भने शाक्य मुनि बुद्ध भन्दा धेरै पहिलादेखि यो चलन भएको पाइन्छ । मुतात्मा मुक्ति रोग व्याधिबाट मुक्ति अतिवृष्टि आदिबाट पनि मुक्ति पाउन आजसम्म पनि यो पर्वलाई निंरन्तरता दिँदै आएको गुँला महिना पर्ने धर्म भएकै कारण गुँला धर्म भनिएको हो ।
गुँला पर्व र धिमे बाजा, धाः बाजा :–
नेपाल महायान, बज्रयानको केन्द्र हो । यो धर्मको सम्बन्ध संगीतको राग, ताल, सुर, बाद्यसँग अभिन्न नाता गाँसिएको छ । मञ्जुश्रीले नेपाल खाल्डोलाई देशको रुपमा निर्माण गर्दा गुÞयश्वरी देविलाई ताः बाजाको तालमा चर्चागीत स्वयंम गाएको पाईन्छ । गुँला पर्वमा बाजाहरुको आ–आफनै विशेषता छ । नेपाल चारभज्याङ्ग खाल्डो भित्रको बाजाको इतिहास हेर्ने हो भने लेलको शिव देव अशुंवर्माको सम्वत् ५२६ को अभिलेख पहिलो स्थानमा पर्छ । यसमा वादिस्त्र गोष्ठीको उल्लेख भएको छ । त्यति बेलामा नै गाजाबाजाको परम्परा व्यापक भइसकेको अनुमान गर्न सकिन्छ । उति बेला बाजा बजाउने समूह (गुठी) बनिसकेको पाइन्छ । यो भन्दा पहिला वंगालका समसुलदिनले काठमाडौं आक्रमण गरी स्वयम्भू चैत्यलाई आगो लगाई ध्वस्त पारेपछि ने.स.४९२ मा राजा स्थितिमल्लले पञ्चबुद्धको मूर्ति राखि स्वयम्भू चैत्य निर्माण गरेको अनुमान गरेको पाइन्छ ।
धाः बाजा बुद्ध कालमा शाक्यहरु नेपाल भागेर आएको समयमा साथै लिएर आएको आदिकालको रुपमा लिइन्छ भने । धिमे बाजा आदिम कालका नेवार समूहको बाजा हो । काठमाडौंमा मात्र नभई पाटन, भक्तपुर, थिमी, किर्तिपुर, बज्रबाराही, बनेपा तथा अन्य ठाँउमा पनि गुँला बाजा बजाउने चलन हालसम्म पनि रहेको छ । तानसेनमा पनि गुँला पर्वमा बाजा बजाई चैत्य परिक्रमा गरिन्थ्यो । अहिले यो चलन हराइसक्यो । काठमाडौंको गुँला बाजालाई धाः बाजा भन्ने गरिन्छ भने पाटनमा नौ बाजा (नौमती) लाई लिइन्छ । थिमि, भक्तपुर, बनेपा, बुँगमतिमा पनि नौ मति बाजा बजाउने गरिन्छ । काठमाडौंमा नौ मति लोपोन्मुख भै सक्यो । स्वंयम्भू बुद्ध चार्य खलकले सि· बाजा, धाः नायकि, भुस्या,छुस्या बाजा मात्र बजाउँदै आएको पाईन्छ । यस महिनामा बजाउने आदिम स्वरुपको सि· बाजा स्वंयम्भूको बुद्ध चार्य बाहेक अन्यले बजाउन छाडिसके । स्वंयम्भूमा भने मृतकको मोक्षको लागि सि· बाजा बजाउन लगाउने काम जनमानसले गराउन लगाउने भएकाले अहिलेसम्म बाजा बजाउने चलन चलिरहेको छ । प्राचिन कालदेखि नेवार जनजीवनमा सामाजिक, साँस्कृतिक, धार्मिक आदिसँग सम्बन्धित प्राचीनकालदेखि रहि आएको एक पक्ष हो बाजा । यो बाजा समूह भित्र धिमे, धा :, नायखी, दमोखिं, डब डब, दः पछिमा, खिं, क्वंचाखिं, म्वाहालि, बाँसुरी, बय् , पोंगा, पैंता, ताः गं, धौ, बभूचा , छुस्या , झ्यालि, झुस्याः मात्र नभई संसारमा कतै नभएको कोताखिं यहाँको आफ्नै पनको बाजा हुन् ।
गुँला बाजा बजाउँदा गुँला धर्मको आगमन भएको आभास हुन्छ । दीपंकर तथागत, नकदेश (नुवाकोट) सिद्धि गणेश, इनाक्वको सिद्धिकालि, तिंगुनीको नील वाराही, भत्तपुरको तौमधी, भैरवनाथ, नारायण, नासमनाको न्रत्यनाथ, सूर्यविनायक, नमो बुद्ध, सााखुको बज्रयोगिनी पनौतिको धुंदेश्वरी, महादेव, धुलिखेल (धौख्यः) नीलकण्ड महादेव, बौद्ध स्तुप चावेल (चावाहिल) पशुपति, गुह्श्वरी चोभार आदि स्थानमा अझै पनि यि बाजाहरु बजाउने गरिन्छ । धाः बाजा गुँला पर्वमा मात्र नभई अरु उत्सवहरुमा पनि बजाईन्छ । नेपालमा खाल्डोमा सिङ भेरी बाजा टोल–टोलमा थियो । अहिले लोप भइसक्यो । केहि ठाउँको मानिसको प्रयासले सुरक्षित गरिरहेको पाईन्छ । स्वंयभू, पाटन, बुंगमती, बज्रवाराही, थिमी, बनेपा, किर्तिपुरमा भने हाल पनि सिङ्गको बाजा बजाउने गरिन्छ । यो बाजा बनाउन आवाज अनुसारको सिङप्रयोगमा ल्याएको पाईन्छ । ठूलो राँगोको सिङ, मझौला सिङ, र सानो सिङ , त्यस्तै फरक आवाज निकाल्न भैसिँको सिङ प्रयोगमा ल्याइएको पाईन्छ । भैसीं र राँगोको सिङबाट बनेको सिङ भेरी बाजा फरक स्वरबाट बजाउने गरिन्छ । भैसी र रांगोको सिङबाट निस्कने आवाज पनि फरक नै हुन्छ ।
श्रोतः विभिन्न पत्रपत्रिका तथा ‘नेवार संस्कार र संस्कृति’
(लेखक नवजनचेतना दैनिकका नियिमत स्तम्भकार समेत हुन् ।)