पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पीसीआर परीक्षणमा ४ जना र एन्टिजेन परीक्षणमा ३० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३१ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १, तानसेन नगरपालिकाका ३ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ सय ८ पुगेको छ । जसमा २ हजार ३ सय ४९ महिला र ३ हजार ७ सय ५९ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको छ । १ सय ४४ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका ३, रम्भा गाउँपालिकाका १३, बगनासकाली गाउँपालिकाका २, रिब्दीकोट गाउँपालिकाका १० र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ६ सय ९९ पुगेको छ । जसमा १ हजार ९ सय १४ जना महिला र १ हजार ७ सय ८५ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३० जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र १४ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ९, माथागढीका ३, रामपुर, बगनासकालीका, तिनाउ,रिब्दीकोट, निस्दीका १÷१ र रम्भाका १३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ५ सय ४३ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । जिल्लामा २९ जना होम आइसोलेसनमा रहेका छन् भने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।