रामचन्द्र रायमाझी
पाल्पा, हरेक वर्षको तिजमा माइती घर जाने गरेकी तानसेन भगवती टोलकी कल्पना पौडेल गत वर्षदेखि माइत गएकी छैनन् । जान्ने भएदेखि सधै माइतमा मनाएको तिज गत वर्षदेखि कोरोना भाइरस महामारीको जोखिमले उनले घरमै मनाएकी छन् । तिजमा माइत नगएपछि तिज आएजस्तै लाग्दैनथ्यो,यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष पनि माइत जाने मनसाय बनाइन्,’ पोडेलले भनिन् । ‘सधै एकनास कहाँ हुन्छ र । ज्यानै जोखिममा पारेर चाडपर्व मनाउनुको अर्थ पनि छैन । स्वास्थ्य सुरक्षित रहे अर्को वर्ष रमाइलो गरी तिज मनाई हालिन्छ नि ।’
तानसेन कैलासनगरकी मीना खत्री बिहीबार बिहानै नजिकैको शिव मन्दिरमा पूजाका लागि पुगेकी थिइन । उनी विगतका वर्षजस्तै यस वर्ष पनि मन्दिरमा भीडभाड होला भनेर हतार–हतारमा मन्दिर पुगीन । तर मन्दिरमा खत्रीले सोचेजस्तो थिएन । ‘घरबाट पूजा गर्न पालो नपाइएलाकि भनेर छिट्टै आइयो । यहाँ कोही दर्शनार्थी नै रहेनछन्, उनले भनिन्, ‘यस वर्ष अचम्मै भएछ । कोरोनाका कारण कोही मन्दिर नआएजस्तो लाग्यो ।’
गुल्मी मुसिकोटकी गोमा खत्री पनि यस वर्ष कोरोना महामारीका कारण माइत जान नपाएको बताइन् । उनले भनिन् ‘विगतमा माइत गएर दिदी–बहिनी, दाजुभाई मिलेर रमाइलो गथ्र्यों तर यस वर्ष भने महामारी कायमै छ, कसरी रमाइलो गर्नु, आफै सुरक्षित हुनुपर्ने अवस्था छ ।’ उनी मात्र होइन गत वर्षादेखि धेरै महिला दिदी बहिनी माइत नगई घरमै तिज मनाएका छन् । अवस्था सामान्य भइदिएको भए यतिबेला चेलीबेटीहरु माइती घरमै रमाइलो मै व्यस्त हुन्थे । तर परिस्थित फरक भइदिँदा चेलिबेटीहरु यतिबेला घरभित्र बस्न बाध्य भएका छन् । श्रीकृष्ण जन्माष्टमीदेखि नै महिलाले दर खाने र रमाइलो सुरु गर्ने भए पनि यस वर्ष कतै तिजका गीत सुनिएनन् । न त बजारमा चहलपहल भयो न गाउँघरमा रातभर तिजका गीत गुञ्जिए । प्रशासनले निषेधाज्ञा खोलेको भए पनि भिडभाडमा रोक लगाएको र संक्रमणको अवस्था कायमै रहेकाले यस वर्षको तिजमा पनि उत्साह देखिएन ।
बगनासकालीकी सिता न्यौपानेलाई पनि यस वर्षको तिज खल्लो लाग्यो । बिहानै मन्दिरमा पूजा गरेर साथीसँग डाँडाहरुमा गएर नाच्च गान गर्दै साँझ घर पुग्ने दिन कहिले आउँलाजस्तो भएको उनले बताइन । ‘तिज पर्व महिलाका लागि विशेष पर्व भए पनि त्यो उत्साह र उमङ्ग यस वर्षको तिजमा देखिएन’,उनले भनिन्, ‘नाचगान गर्दै रमाइलो गर्ने दिन गए । अब घरमै बसेर टिभी हेरी दिन बिताउनुको अर्को विकल्प छैन ।’ जिल्लाका अधिकांस शिवालय मन्दिरहरुमा पूजा गर्न पुग्ने भक्तजनहरुको विगत वर्षहरूमा जस्तो भिडभाड देखिएन । कोरोना महामारीको त्रासका कारण भक्तजनहरु मन्दिरसम्म पुग्न सकेका छैनन् । विगतका वर्षमा तिजको दिन मन्दिरमा भिडभाड हुने गथ्र्यो । तर विगत दुई वर्षदेखि भने मन्दिरहरुमा समेत सुनसान देखिएको छ ।
गाउँघरमा यतिबेला तिज गीत र मादलका आवाजहरु घन्किने बेला भए पनि ति आवाजहरु घन्किन सकेनन् । गीत मात्रै होइन एक महिना पहिलेबाट विभिन्न स्थान पार्टी प्यालेसहरुमा दरखाने कार्यक्रमहरु पनि नहुँदा यस वर्षको तिज सुनसान जस्तै भएको छ । कहि कतै घरपरिवार र दुई /चार जना दिदी बहिनीहरु जम्मा भएर होटल तथा घरमै रमाईलो गरे पनि धेरै ठाउँहरुमा भने त्यस्तो हुन सकेन ।
मौलिकता भुल्दै
सासुबुहारी, नन्द– भाउजु, आमा छोरीहरुका दुःख, सुखका विलौना र माइती घरको सम्झना चेलीबेटी जमघट भएर तिजमा गाईने भाका, लय हिजोआज गाउँघरमा सुन्नै मुस्किल भइसकेको छ । घर आगनको डिलमा बसी, गाउँभरिका महिलाहरु टुँकी र दियालोको उज्यालोमा रातभर तिजका गीत मादलको तालमा गाउँदै नाँच्ने ती रमाइला पल एकाएक हराउँदै गएका छन् । पुराना मौलिक संस्कृतिहरु पुस्तान्तरण हुन नसक्दा पुरानालयका तिज गीतहरु हराउँदै गएका हुन् । पहिले–पहिले व्रतको दिन पेट अडिलो होस् भनि बिहान कुखुरा नबासुञ्जेल दर खाने गर्थे । तर अहिले महिना दिन अघिदेखि दर खाने चलन बसेको छ । अहिलेको दरमा परिकार फेरिएका छन् । आधुनिक खानाको साथमा मदिरा पनि जोडिएको छ । पहिले–पहिले तिजमा चेलीले गीत गाएर घर–माईतका व्यवहारका विरहका अनुभूति प्रकट गर्थे । अहिले तडक–भडकले भरिएका भड्किला गीतमा नाँचगान गर्ने गरेको पाइन्छ । सबैभन्दा बढी गीत र दरले तिजलाई विकृत बनाएको छ । आधुनिकताको नाममा परम्परालाई भुलेर समाज साँस्कृतिक अतिवादतर्फ ढल्कँदैछ । यसले हाम्रो संस्कृतिलाई ठूलो असर पार्ने पुराना पुस्ताहरु बताउँछन् । विभिन्न छाडापनका गीतको लयमा नाँच्नुको साथै दरका नाममा जाँड, रक्सी सेवन गरी हो–हल्ला गर्ने परिपार्टीले यतिबेला विकृति लिएको छ । यसरी नेपाली मौलिक संस्कृति माथि विकृति प्रहार भएको प्रति पुरानो पुस्ता भने चिन्तित बनेको छ । –तस्वीर : फाइल फोटो