विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ । आत्महत्या आफैंले आफ्नो हत्या गर्नु वा मार्नु हो । आत्महत्यालाई कानूनी अपराध मानिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ उपदफा १ मा आत्महत्या दुरुत्साहनबारे समेत व्यवस्था गरिएको छ । कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउनु हुँदैन भनिएको छ ।
त्यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्मको कैद र पचाँस हजारसम्मको जरिवानाको व्यवस्था पनि गरिएको छ । यति हुँदा हुँदै पनि पछिल्लो समय नेपालको तथ्यांक हेर्ने हो भने आत्महत्याका घटना दिनानुदिन बढ्दो छ । यो आफैमा दुखद् हो । नेपाल प्रहरीको पछिल्लो तथ्यांकले नेपालमा हरेक दिन १६ जनाले आत्महत्या गरेको देखाउँछ । नेपालमा मात्र नभएर विश्वमा समेत हरेक वर्ष करिब ८ लाख व्यक्तिको मृत्यु आत्महत्याका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । नेपालमा महिलाभन्दा पुरुषमा आत्महत्या बढी पाइए तापनि १५—४५ वर्षका महिलाहरूमा मृत्युको मुख्य कारण आत्महत्या रहेको पाइन्छ । यद्यपि अझै पनि समाजमा विद्यमान विविध सामाजिक लाञ्छना, आत्महत्या सम्बन्धी गलत धारणा, आत्महत्या गरेका व्यक्तिका परिवारले भोग्नुपरेको भेदभाव अनि अस्पष्ट कानुनी प्रयोजनका कारणले अझै पनि आत्महत्याको रोकथाम हाम्रो समाजको प्राथमिकतामा पर्नसकेको छैन । यो विडम्बना हो । आत्महत्या गर्नुका पछाडी यही नै कारण हो भन्न सकिन्न । तर, पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्दछन् । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पुर्याउने प्रमुख रोगको रूपमा मानिन्छ । आत्महत्याको मुख्य कारण भनेको नै दुःख हो । मानिसको जीवनबाट जब खुसी हराउँदै जान्छ तब उसले विकल्प र सजिलो उपाय आत्महत्या देख्छ । आत्महत्या रोक्न हरेक वर्ष दिवस मनाउने गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । आत्महत्या रोक्नका लागि एक आपसमा सहकार्य हुनु आवश्यक छ । विशेषगरी आत्महत्याको कारण र रोकथामबारे विभिन्न सञ्चार माध्यममार्फत जनजागरणका कार्यक्रम, स्कुुल, पाठ्यपुस्तकहरूमा शैक्षिक जागरणका कार्यक्रम, २४ सै घण्टा हटलाइन तथा काउन्सेलिङ केन्द्रको स्थापना गरी सेवा प्रदान गर्नसकेको खण्डमा आत्महत्या केही हदसम्म भए पनि रोक्न सकिन्छ । यसर्थ विकराल बन्दै गएको आत्महत्या रोक्ने विषयमा सबैले ध्यान दिन जरुरी छ ।