पाल्पा,काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
बुढा नेताहरुको पार्टी भनेर काँग्रेसले बेला–बेला आरोप खेपिरहेका बेला पाल्पामा भने अधिकांस युवाहरु वडा र क्षेत्रिय प्रतिनिधिको नेतृत्वमा आएका छन् । जिल्लाका ८१ वटै वडामा सम्पन्न भएको अधिवेशन मध्येबाट सबै भन्दा कम उमेरका ज्ञवाली वडा सभापति हुन सक्ने नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले बताए । उनले अहिलेसम्म सबै वडाको सम्पूर्ण विवरण नआइसकेकाले आफुलाई जानकारीमा आएसम्म ज्ञवाली नै कम उमेरका वडा सभापति हुन सक्ने एनजेडीसँगको कुराकानीमा बताए । ज्ञावली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लाग्दै आएका छन् । नेपाल तरुण दल रामपुरका सह–सचिव समेत रहेका ज्ञावलीले सानै उमेरदेखि नेपाली काँग्रेसको राजनीतिलाई नियाल्दै आएका छन् ।
वडा सभापतिमा निर्वाचित ज्ञावालीले आफु नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताउन्छन् । गाउँदेखि केन्द्रसम्म राजनीतिमा बूढापुस्ता हाबी छ । महाधिवेशनमा युवापुस्ताको सहभागिता कस्तो होला ? भन्ने बहस चलिरहेकै बेला ज्ञवाली सभापति बनेपछि जिल्लाका युवाहरु उत्साहित बनेका छन् । बुढा नेताहरुको पार्टी भनेर बेला–बेला आरोप खेप्ने नेपाली काँग्रेसमा जगबाटै युवाले हस्तक्षेप गर्न थालेको भन्दै युवाहरु उत्साहित बनेका हुन् । युवा ऊर्जालाई राजनीतिको असल अभ्यासमा खर्च गर्ने वडा सभापति ज्ञवाली बताउँछन् । उनी भन्छन् ‘पुराना पुस्ताका नेताबाट सिकेर नयाँ सोंचअनुसार राजनीतिलाई जनतासँग जोड्ने हो,।’ राजनीतिलाई फोहोरी खेल भनेर युवाहरु तर्किने होइन, सफा गर्नें हिम्मत गर्ने हो र त्यो पार्टीभित्रैको संघर्षबाट गर्ने हो भन्ने सन्देश दिनकै लागि पनि आफु वडाको नेतृत्वमा आएको ज्ञवालीको भनाई छ । उनी नेपाल प्रेस युनियन पाल्पाका सदस्य समेत हुन् ।
यस्तै पाल्पाको बगनासकाली गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले महिला वडा सभापति पाएको छ । वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले सीता गहिरेलाई वडा सभापतिमा निर्वाचित गरेका हुन् । गहिरे जिल्लामै पहिलो महिला वडा सभापति बनेकी छन् । निर्वाचन भएका ८१ वडाहरु मध्ये ८० वडामा पुरुषले नेतृत्व गरेका छन् । अन्य स्थानमा सर्वसहमत रुपमा नेतृत्व चयन भएपनि बगनासकाली २ मा भने वडा सभापतिमा चुनावी प्रतिष्प्रर्धाबाट नेतृत्व छानिएको हो । निर्वाचनमा पुरुष उम्मेदरवार राजेन्द्र बहादुर रानालाई पराजित गर्दै गहिरे वडा सभापति निर्वाचित भएकी हुन् । विजयी गहिरेले ४१ मत ल्याएकी थिइन भने प्रतिद्धन्ती रानाले ४० मत ल्याई पराजित भएका थिए ।