पाल्पा, जिल्लामा शुक्रबार सम्ममा कोरोना सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ४८ पुगेको हो ।
जिल्लामा पछिल्लो समय संक्रमितहरुको निको हुने दर बढ्दै गएपछि सक्रिय संक्रमितको दरमा कमी आएको छ । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २ जना र एन्टिजेन परीक्षणमा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा १२ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ सय १० पुगेको छ । जसमा २ हजार ३ सय ५० महिला र ३ हजार ७ सय ६० जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । ५५ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ७ सय १ पुगेको छ । जसमा १ हजार ९ सय १५ जना महिला र १ हजार ७ सय ८६ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २ जना महिला कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका २ जना महिला संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ५ सय ४५ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । ४८ जना सक्रिय संक्रमित मध्ये ३६ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।