Shittalpati
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै

पाल्पा, नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।

शुक्रबार बसेको काँग्रेस पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मको नयाँ मिति प्रस्ताव गरेका हुन् । तर सो मिति सार्वजनिक भने गरिएको छैन । प्रदेश र केन्द्रको तोकिएकै मितिमा अधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव गरिएको छ । स्रोतका अनुसार २७ भदौका लागि तय गरिएको पालिका अधिवेशन ९ असोजमा सार्न प्रस्ताव गरिएको छ । यस्तै यसअघि १ असोजका लागि तय भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोज, ५ असोजका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन १३ असोजका लागि प्रस्ताव गरिएको छ । यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १० असोजका लागि तय भएकोमा सारेर १६ असोजका लागि प्रस्ताव गरिएको छ । यस्तै क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका २० जिल्लामा ५ असोजमा वडा अधिवेशन तय गरिएको छ । क्षेत्रीय र केन्द्रीय महाधिवेशन भने तोकिएकै मितिमा हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update