हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापकर्म छन्, तिबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन् । भाद्र शुक्ल पञ्चमी तिथिका दिन मनाइने यो पर्वको छुट्टै ऐतिहासिक र धार्मिक महत्व रहेको छ । श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रजोधर्ममा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहने मान्यता छ ।
यो व्रतको शुभारम्भ सत्ययुगदेखि नै भएको देखिन्छ । सत्ययुगमा विदर्भ देशमा श्येनजित नामका राजाले शासन गरेको, उक्त देशको एक गाउँमा वेद र पुराणमा पारंगत सुमित्र ब्राह्मण र उनकी श्रीमती जयश्री नामकी ब्राह्मणीलाई ऋषिपञ्चमी कथाको विशेष नायक र खलनायक पात्रका रुपमा चित्रण गरिएको छ । जयश्री नामकी ब्राह्मणीले खेतीपातीमा व्यस्तता हुँदा रजश्वला भएको समयमा छुवाछूत गरेका कारण अर्को जन्ममा कुकुर्नी भएर जन्मिएकी, ब्राह्मणचाहिँ अर्को जन्ममा गोरु भएर जन्मिएका, आफ्नै घरमा दुवैजना गोरु र कुकुर्नीको रुपमा बस्न पुगेका र छोरा–बुहारीले बसेको ऋषिपञ्चमीको व्रतका प्रभावले उनीहरुले मुक्ति प्राप्त गरेको प्रसंगका आधारमा यस व्रतको प्रारम्भ भएको पाइन्छ । कथाको आधारमा छुवाछूतको दोष मेटाउन स्त्री–पुरुष दुवैले व्रत बस्नुपर्ने भए तापनि विशेष रुपले महिलाहरूले मात्रै व्रत बस्ने प्रचलन चलिआएको छ । हरितालिका तीजको भोलिपल्ट गणेश चतुर्थी पर्व पर्दछ र यसको लगत्तै ऋषिपञ्चमी पर्वको आगमन हुन्छ । पञ्चमीका दिन सप्तऋषिहरुको मन्दिरमा गएर वा घरमै पनि कुशको प्रतिमूर्ति बनाई पुरोहित राखेर पूजा गर्ने प्रचलन छ । नेपालको पनि सप्तऋषिका मन्दिरहरुमा त्यस दिन भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । हुन त आजको समयमा रजश्वला भनेको प्राकृतिक प्रक्रिया हो र यसलाई छुवाछूतसँग तुलना गर्नु पाखण्डपन हो भन्ने आवाज पनि चलिरहेको छ । तर यसलाई नेपाली समाज र हिन्दु धर्मको दर्शनले त्यस्तो मान्दैन । हिन्दु दर्शनले रजश्वला भएको ४/५ दिनसम्म छोइछितो गर्न नहुने बताउँछ । यति नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापकर्म छन्, तिबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन् । त्यसैले यो पर्वले अप्रत्यक्ष रुपमा महिलाहरूको सशक्तीकरण र सबलीकरणमा विशेष महत्व राख्दछ ।