पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २ जना र एन्टिजेन परीक्षणमा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २९ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिका र रामपुर नगरपालिका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ सय १२ पुगेको छ । जसमा २ हजार ३ सय ५१ महिला र ३ हजार ७ सय ६१ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । २२ जनामा परीक्षण गरिएकोमा रैनादेवी छहरा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ७ सय ३ पुगेको छ । जसमा १ हजार ९ सय १६ जना महिला र १ हजार ७ सय ८७ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५ जना महिला र ५ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन, रामपुर, रैनादेवी छहरा, रिब्दीकोटका २/२ जना, बगनासकाली र तिनाउका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ५ सय ५५ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १९ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म ४१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये २९ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।