Shittalpati
पाल्पामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन

पाल्पा, जिल्लामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले विश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नाकबाट रगत बग्दा, क्षोभ हुँदा, रक्तश्राव हुँदा र हाड भचाईमा गरिने प्राथमिक उपचारलाई अभ्यासको रुपमा प्रदर्शन गरिएको थियो । विद्यालय तथा समुदायमा प्राथमिक उपचारको नायक बन्नुहोस् भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचारसँगै प्राथमिक उपचारको सैद्धान्तिक विषयहरुमा छलफल समेत गरेको थियो ।

 

कार्यक्रममा शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्कीले रेडक्रसको स्थापना घाईतेहरुलाई गरिएको प्राथमिक उपचारबाट शुरु भएको बताए । उनले प्राथमिक उपचार सबैका लागि अति आवश्यक रहेको औल्याए । प्राथमिक उपचार सिप हरेक व्यक्तिलाई अत्यावश्यक रहेकाले रेडक्रसले पनि समुदायस्तरमै पुगेर यसका विषयमा प्रशिक्षण दिने गरेको अधिकृत कार्कीले बताए । रेडक्रसले आगामी दिनमा पनि समुदाय र विद्यालयमा प्राथमिक उपचार सिपको पहुँच बढाउदै जाने प्रतिवद्धा जनाएका छन् ।

शाखाका उपमन्त्री केशवराज नेपाल र उपकोषाध्यक्ष पुष्करराज रेग्मीले प्राथमिकता उपचार अभ्यास आफैमा राम्रो काम रहेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रशिक्षकहरु पदमराज पौडेल, संजित थापा र मनिषा रेश्मीले सहभागिहरुलाई प्राथमिक उपचारका विषयमा प्रदर्शनमार्फत जानकारी गराएका थिए । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाद्वारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम समेत नियमित सञ्चालन भएको छ । कार्यक्रममा शाखाका पदाधिकारी, सदस्यहरु, कर्मचारीहरु, उपशाखाका पदाथिकारीहरु, शिक्षक नायकहरु, यूवा रेडक्रस सर्कलका पदाथिकारी तथा सदस्यहरु र प्राथमिक उपचार प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । शाखाका मन्त्री केशवराज पौडेलको अध्यक्षता, कार्यक्रम अथिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै व्यापक कार्यक्रमको आयोजना नभए पनि न्यून व्यक्तिहरुको सहभागितामा रेडक्रस पाल्पाले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका कार्यक्रम गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update