Shittalpati
विश्वकर्मा पूजा र यसको महत्व

हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडी त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक र वैज्ञानिक कारण हुन्छन् । अन्य चाड–पर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ । आज नेपालमा धुमधामका साथ विश्वकर्मा बाबाको पूजा गरिदै छ ।

यस दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो,यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरेमा राम्रो हुने विश्वास छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन प्रायः कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सिर्जनात्मक हो ,जुन कामले जीवको जीवन सञ्चालित हुन्छ उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ । शिल्पविद्याको मुलस्रोत अथर्ववेद अनुसार नै कालिगढहरूले अनेक वस्तुको उत्पादन गर्न सफल भएका हुन् । फलस्वरूप इन्जिनियर, वैज्ञानिक भएका छन् । विश्वकर्मा बाबालाई विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास समेत छ । त्यसैले आजको दिन सबैले आ–आफ्ना हतियार, औजार, साधनहरू वर्षभरि प्रभावकारी रूपबाट प्रयोग भएकोमा धन्यवाद र आगामी दिनमा अझ प्रभावकारी रूपबाट प्रयोग गर्न सकूँन् भन्ने मनोकामनासहित विभिन्न किसिमबाट कल कारखाना, सवारी साधन, विमान, विद्युतीय उपकरणहरू समेत पूजा गर्ने प्रचलन छ । यो प्रचलन आफैमा महत्वपूर्ण रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update