Shittalpati
स्कुल खोल्न हतार नगरौं

पाल्पामा जिल्ला संकट व्यवस्थापन समितिको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर स्थानीय तहले स्कुल सञ्चालन गर्न सक्ने निर्णय गर्‍यो । सोही अनुसार पाल्पामा अधिकांस स्थानीय तहहरुले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेका छन् । स्थानीय तहले विद्यालय खोल्न थालेपछि सरकारले हतार नगर्न भनेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या बढिरहेको र नेपालको पछिल्लो अवस्था हेर्दा पनि कोरोना संक्रमितको संख्या १ हजार ४ सयभन्दा बढी हुन थालेको अवस्था छ । पाल्पामा पनि दुई/तीन दिन यता ३० देखि ४० जनाको हाराहारीमा दैनिक संक्रमित भेटिएका छन् ।

यस्तो अवस्थामा तत्कालका लागि पर्ख र हेरको नीति लिनु अस्वाभाविक होइन । भदौ अन्तिम सातादेखि निषेधाज्ञा हटेसँगै सबै व्यापार व्यवसाय खुलेका छन् । यस्तो अवस्थामा संक्रमण फैलिन सक्ने भएकाले सरकार र सरोकारवाला पक्षहरुले समेत दशैंअघि विद्यालय खोल्न नहुने सुझाएका छन् । तर केही स्थानीयतहका स्कुलहरुले भने अहिले नै विद्यालय खोलिसकेका छन् । विज्ञहरूले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोलेर पढाइ सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताएका छन्। खोप नपाएका बालबालिकामा संक्रमण र जटिलता देखिने र यसको उपचार मुलुकले थेग्न नसक्ने उनीहरूको चेतावनी छ । विद्यालय खोल्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबीच नै एकमत छैन । यस्तो अवस्थाले अन्यौलता समेत सिर्जना गरिदिएको छ । यसो हुनु दुखद् हो । यस्तो अवस्थामा सरकारको स्पष्ट धारणा आउन जरुरी छ । दशैं बिदा हुन १९ दिन मात्र बाँकी रहँदा विद्यालय खोल्नुको कारण शुल्क उठाउनकै लागि भएको अभिभावकको आरोप छ । अहिलेकै अवस्थामा दशैं र तिहारअघि विद्यालय खोल्न नहुने आवाज उठेको छ । यो स्वाभाविक नै हो । संक्रमण कायमै रहेकाले अहिले नै हतारमा विद्यालय खोल्नु गलत हो । शिक्षकहरुले खोप पाए पनि विद्यार्थीहरुले खोप पाएका छैनन् । यस्तो अवस्थामा विद्यार्थी बढी जोखिममा पर्छन् । विद्यालय खोल्न नहुने होइन । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने जस्तो काम हुनुहुन्न । दशैंसम्म रोकिएर हेर्नु आवश्यक पनि छ । किनभने चाडबाड नजिकिएकाले भीड लागेको अवस्थामा जोखिम बढ्ने कुरालाई नकार्न सकिन्न । केही हप्ता पठाएर यसै पनि विद्यालय बन्द गर्ने नै हो भने दुई/तीन साताका लागि किन हतार गर्ने ? लामो समयदेखि पढाई नहुँदा पढाईमा थुप्रै असर गरेको सत्य हो । तर सत्य के पनि हो भने दूई/तीन हप्ता पढाई ढिला हुँदैमा पहाड नै खस्ने भन्ने हैन । अझै केही दिन ढिला गरेमा पनि विद्यार्थीको भविष्य डामाडोल नै हुन्छ भनेर सोच्नु हुँदैन । यस्तो अवस्थामा सकेसम्म संक्रमण फैलन नदिनतर्फ नै ध्यान दिनुपर्छ । मानिसलाई अहिले ज्यान जोगाउनतर्फ बढी चिन्ता भएकाले अहिले नै स्कुल खोलेर पठनपाठन सुरु गर्नैपर्ने बेला हैन । त्यसैले अहिले नै स्कुल खोल्न हतार नगरौं ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update