Shittalpati
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो

पाल्पा, आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश स्वास्थ्य कार्यालय पाल्पासँगको सहकार्यमा अन्तक्र्रिया कार्यक्रम भएको हो । ‘कोभिड १९ को महामारी : परिवार योजना सेवाको पहुँच बराबरी’ भन्ने यस वर्षको नारा रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीसहित यौनिक अल्पसंख्यक, एचआईभी संक्रमित र फरक क्षमताका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्नेमा सरकारले चासो दिने गरेको बताए । उनले लक्ष्यअनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले अब परिवार नियोजन र स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी तथा निजी संघसंस्थाले एकै ठाउँमा बसेर छलफल गरी प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए ।

संघका शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले कार्यक्रम माथि प्रकाश पार्दै जिल्लामा परिवार नियोजनको कार्यक्रम प्रभावकारी बनेको बताए । उनले परिवार नियोजनका साधन तथा सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । मिडियाको माध्यमबाट सेवा प्रभावकारिता तथा गुणस्तरीयताको बारेमा जनताले थाहा पाउने गरेको उनले बताए । संस्थाले परिवार नियोजनका साधनमार्फत अनिच्छुक गर्भधारणबाट बचाउने, यदी अनिच्छुक गर्भ रहेको भए सुचिकृत स्वास्थ्य संस्थामार्फत सुक्षित तरिकाबाट गर्भपतन गराउने सेवालाई व्यक्ति–व्यक्ति, परिवार–परिवारमा पुर्‍याउने काम गर्दै आएको शाखा प्रवन्धक न्यौपानेले जानकारी दिए । संस्थाले गरेका विभिन्न शिविर तथा घुम्ती सेवाबाट लुकेर रहेका यौन रोगीहरु बाहिर आएको, पाठेघर मुखको क्यान्सर भएका महिलाहरु समयमै क्यान्सर हुनबाट जोखिएको उनले बताए । संस्थाले एचआईभी सक्रमित तथा प्रभावितहरुको घर–घरमा पुगी सेवा प्रदान गर्दै आएको प्रवन्धक न्यौपानेले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघका सह–सचिव कृष्ण दर्नालले परिवार नियोजन र स्वास्थ्यको क्षेत्रमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सदस्य माधव अर्यालको स्वागत, संघका लेखापाल सोम बहादुर आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

नेपाल सरकारले पहिलो पटक २०७१ असोज २ गतेलाई राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाएको थियो । प्रजनन् स्वास्थ्यमा नेपाल परिवार नियोजन संघले पुर्‍याएको योगदानको कदर गर्दै संघकै स्थापना दिवसलाई सरकारले २०७१ साल देखि राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यौन तथा प्रजनन अधिकारका क्षेत्रमा कार्यरत संघको वि.स. २०१५ मा असोज २ गते स्थापना भएको थियो । आफ्नो स्थापना दिवसलाई संघले परिवार नियोजन दिवसका रुपमा मनाउँदै आएको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update