Shittalpati
ट्रेड युनियन काँग्रेस पाल्पाले मनायो स्थापना दिवस

पाल्पा । नेपाल ट्रेड यूनियन काँग्रेस पाल्पाले स्थापना दिवस मनाएको छ । यूनियनले श्रमिकका बालबालिकाहरुलाई खाजा र विरामीहरुलाई फलफुल वितरण गरी बुधबार ७४ औं स्थापना दिवस मनाएको हो ।

नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेश्नल लेवर फाउण्डेशनद्वारा बालश्रमिकहरुका लागि सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत तानसेनमा रहेको अनौपचारिक शिक्षा केन्द्रका बालबालिकाहरुका लागि युनियनले दिवसका अवसरमा खाजा र माक्स वितरण गरेको छ । मजदुरका बालबालिकाहरु अध्ययन गर्ने केन्द्रमै पुगेर युनियनका पदाधिकारीहरुले एक कार्यक्रमका बीच खाजा र माक्स वितरण गरेका थिए । वितरण कार्यक्रममा प्रमुख अतिथि तथा ट्रेड युनियन काँग्रेस प्रदेश ४ का वरिष्ठ उपाध्यक्ष मधुकर काफ्लेले जहाँ श्रम र श्रमिकको सम्मान हुन्छ त्यहाँ लोकतन्त्रको संस्थागत विकास हुने बताए । उनले ट्रेड युनियनलाई क्रियाशिल बनाउदै श्रमिकका बालबालिकाहरुलाई शिक्षामा समाहित गरी श्रमिकहरुको सम्मानका लागि अनौपचारिक शिक्षा कार्यक्रमको सुरुवात गरिएको जानकारी गराए । उपाध्यक्ष काफ्लेले देशका ९ वटा जिल्लामा अनौपचारिक शिक्षाका केन्द्रहरु स्थापना गरिएको बताए ।

युनियनका जिल्लाका सभापति लक्ष्मण रायमाझीले ट्रेड यूनियन काँग्रेसको बलिदानबाट प्राप्त उपलब्धीलाई वर्तमान सरकारले उपेक्षा गरेकोमा चिन्ता व्यक्त गरे । उनले श्रमिक तथा मजदुरहरुको हकअधिकारका लागि जिल्लाको सिङ्गो ट्रेड युनियन चनाखो रहेको बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व जिल्ला सभापति प्रकाश नेपाल, प्रेस युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझी, ट्रेड युनियनका कोषाध्ध्यक्ष वेदराम श्रीस, नेपाली काँग्रेस मकवानपुर ४ वडा अध्यक्षका उम्मेदवार केवराज आचार्य, नेपाल निर्माण तथा सम्बन्ध श्रमिक संघका अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठ लगायतले स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै मजदुरको आन्दोलनबाट नै प्राजतन्त्र प्राप्त भएको धारणा व्यक्त गरे । युनियनका सभापति लक्ष्मण रायमाझीको अध्यक्षता, उपाध्यक्ष निलकण्ठ देवकोटाको स्वागत,सचिव टुनविर रेश्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । यूनियनले स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीहरुलाई समेत फलफुल वितरण गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update