पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ५ जना र एन्टिजेन परीक्षणमा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २८ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ७ पुगेको छ । जसमा २ हजार ४ सय १४ महिला र ३ हजार ७ सय ९३ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । जसमा माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ८ सय २० पुगेको छ । जहाँ १ हजार ९ सय ७६ जना महिला र १ हजार ८ सय ४४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ५, रामपुर, तिनाउका २/२, रैनादेवी छहरा, बगनासकाली, निस्दीका १/१ र रिब्दीकोटका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ६ सय ६९ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २२ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १६ जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।