Shittalpati
संविधान दिवसको सार्थकता

आज इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । आजैको दिन अर्थात् असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ । यो राष्ट्रिय उत्सवको दिन पनि हो । निर्वाचित जनप्रतिनिधिहरूको संविधानसभाले यो संविधान जारी गरेको हो । जसको कार्यान्वयनको ६ वर्ष पूरा भएको छ । २०७२ अशोज ३ गते मुलुकको संविधान संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेर जारी भयो थियो ।

संविधान जारी भएको दिन असोज ३ लाई सरकारले राष्ट्रिय दिवसका रूपमा धुमधामसँग मनाउँदै आएको छ । तर गत वर्ष र अहिले पनि कोभिड १९ का कारण दिवस हर्सोउल्लासका साथ मनाउन सकिने अवस्था भने छैन । दिवस मनाउन नपाइए पनि संविधानको मर्मलाई आत्मसाथ गर्न जरुरी छ । निश्चय पनि संविधान राष्ट्रिय महत्वको दस्तावेज हो । यसैका आधारमा मुलुकको राजनीति, शासन–प्रशासन सञ्चालन भएको हुन्छ, हुनुपर्छ भन्ने मान्यता छ । तर यो उत्सव मनाउनमा सीमित कुनै पौराणिक वा धार्मिक ग्रन्थ होइन । यसका अक्षर र उद्देश्य पालना र सोअनुसार व्यवहार भएका छन्, छैनन् मुख्य कुरा हो । लोकतन्त्रमा संविधानको निकै ठूलो महत्व हुन्छ । जनतामा निहित अधिकार संविधान मार्फत सरकार र राज्यका निकायहरूले पाउने हो । राज्यबाट सुविधा र सुरक्षा भोग्ने राष्ट्रपति होऊन् वा प्रधानमन्त्रीदेखि खाली खुट्टा सडकमा हिँड्ने अभावग्रस्त सामान्य नागरिक नै किन नहोऊन्, संविधान सबैका लागि समान हैसियत र अधिकारको स्रोत हो । तर विडम्बना नै भन्नुपर्छ, हामीकहाँ त संसद्मा ठेकेदारहरूको हालिमुहाली छ । अहिले संविधान विपरीतका काम जताततै देख्न सकिन्छ । सत्तामा बस्नेका लागि यो मनपरी गर्न पाउने लाइसेन्स भएको छ भने जनताका लागि नियन्त्रणको हतियार । यो सबैभन्दा डरलाग्दो कुरा हो, संविधानको दुरुपयोग पनि हो । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट निर्मित संविधान यस्तो हुनु हुँदैन । संविधान सबैलाई मान्य हुनुपर्छ । समयानुकूल संशोधनले नै संविधानलाई गतिशील, समृद्ध र साझा बनाउँछ । कुरा यति हो कि क्षति हुनुअगावै संशोधनको आवश्यकता र औचित्य ठम्याउने विवेक नेताहरूमा हुनुपर्दछ । संविधान संशोधन लेन–देनको विषय होइन, साझा आवश्यकता बन्नुपर्छ । तर यहाँ त्यस्तो हुन सकेको छैन । सत्तामा रहनेले आफु अनुकूल संविधानको प्रयोग गर्ने गरेका छन् । यो विडम्बनाको कुरा हो । संविधान राज्यसत्तामा रहनेका लागि अनुकूल वा प्रतिकूल दस्ताबेज बन्नु भनेको त्यो कागजको खोस्टो सरह नै हो । संविधान मानिसको इमान्दारीता, संकल्प र नियतबाट निर्दिष्ट हुने हो । संविधान आपैmमा कुनै रामबाण हैन, जसले छुमन्तर गरेका भरमा सबै समस्याको निदान होस् । यसैले संविधानलाई पालना गर्ने प्रतिवद्धतासहितको संवैधानिक संस्कृतिको विकास गर्न सके मात्र संविधान जीवन्त रहने र दिवस मनाउनुले सार्थकता पाउन सक्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update