Shittalpati
दोस्रो रामपुर पर्यटन महोत्सवको मिति सर्‍यो

इमान सिं राना
पाल्पा (रामपुर) । भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लाको रामपुर नगरपालिकामा हुने भनिएको दोस्रो रामपुर पर्यटन महोत्सवको मिति सरेको छ । यहि फागुन २४ देखि ३० गतेसम्म हुने भनिएको पर्यटन महोत्सवको विश्वभर फैलिएको कोरोना भाईरसका कारण १ महिना पछिका लागि मिति सारिएको हो । कोरोना भाईरसको महामारीबाट बच्न संघीय सरकार र प्रदेश पाँच सरकारले जारी गरेको सूचनालाई आधार मान्दै निर्धारण गरेको समय एक महिनालाई सारिएको छ । सरकारले मेला, महोत्सव, भोज, भतेर जस्ता जमघट तथा भीडभाड हुने, कार्यक्रम तथा योजना नगर्न सोमबार सूचना जारी गरेको थियो ।

त्यससंगै रामपुर नगर पर्यटन विकास समितिको बुधबार बसेको बैठकले आगामी चैत्र २४ गते देखि ३० गतेसम्म पर्यटन महोत्सव गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं नगर पर्यटन विकास समितिका सचिव बाबुराम अर्यालले जानकारी दिए । रामपुर नगरपालिकाको आयोजना तथा रामपुर उद्योग वाणिज्य संघ र नमस्ते यातायात प्रालिको सह–आयोजना साथै नेपाल पर्यटन बोर्ड र नगर पर्यटन विकास समितिको प्रवद्र्धनमा महोत्सव हुन लागेको थियो ।

साताव्यापी रुपमा हुने महोत्सवको अहिले प्रचार–प्रसारको काम अगाडि बढाइएको थियो । महोत्सवलाई लक्षित गरी विभिन्न स्थानमा छलफल, अन्तक्र्रिया लगायतका कामहरु भइरहेको थियो । भौगोलिक बनावटले अत्यन्तै सुन्दर रहेको रामपुर उपत्यकालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । कालीगण्डकीमा जलयात्रा, रामपुर उपत्यकामा प्याराग्लाईडिङ्ग, पैदलयात्रा, रामपुरका धार्मिक तथा पर्यटकिय तीर्थस्थलको अवलोकन, स्थानीय कला संस्कृतिको प्रदर्शन लगायतका कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update