Shittalpati
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको

पाल्पा,  जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

३२ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणमा ३ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका २, माथागढी गाउँपालिकाका ५, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ७२ पुगेको छ । जसमा २ हजार ४ सय ४६ महिला र ३ हजार ८ सय २६ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा २१ जनामा एन्टिजेन परीक्षण गरिएको ६ जनामा संक्रमण देखिएको हो । जसमा २ जना महिला र ४ जना पुरुष रहेका छन् । तानसेन नगरपालिकाका ५ र बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ५९ पुगेको छ । जहाँ २ हजार ४९ जना महिला र १ हजार ९ सय १० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जसमा ६ जना महिला र १० जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन, बगनासकालीका ५/५, रिब्दीकोटका २, बगनासकालीकाका ५, रैनादेवी छहराका ३ र तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ८ सय ६० पुगेको छ । जसमा ५ हजार ५ सय १३ महिला र ४ हजार ३ सय ४७ पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ३२ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ७५ जना महिला र १ सय ५७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । जिल्लामा अहिलेसम्म १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २१ जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update