कोरोना महामारीका कारण पर्यटन व्यवसाय पनि नराम्रोसँग थला परेको छ । विनाशकारी भूकम्पका कारण थला परेको नेपालको पर्यटन व्यवसायले उठ्ने प्रयास गरिरहेकै अवस्थामा कोभिड–१९ को असरले पुनः त्यसलाई थला पारिदियो । अहिले कोरोना संक्रमण दर घटेसँगै सबै क्षेत्रमा बन्दाबन्दी खुलिसकेको छ । तर, पर्यटन व्यवसायले गति लिन भने सकेको छैन ।
केही क्षेत्रमा चहलपहल बढे पनि बाह्य पर्यटकको आगमन हुन सकेको छैन । फाट्टफुट्ट विदेशी अनुहार देखिए पनि पर्यटन क्षेत्र जुर्मुराउन सकिरहेको छैन । यस विषम अवस्थामा पर्यटन व्यवसायलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने देखिएको छ । बाह्य पर्यटक आगमन ठप्प भएपछि नेपालको पर्यटन गतिविधि पनि ठप्पै भयो । पर्यटन प्रवद्र्धनको विशेष योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्दै गरिएकोमा कोभिड–१९ कै कारण भ्रमण वर्ष पनि रद्द गर्नुपर्ने परिस्थिति सिर्जना भयो । झण्डै दुई वर्षअघिदेखिको महामारीले पर्यटन गतिविधि ठप्प नै छ । यो अवधिमा बाह्यमात्रै होइन, आन्तरिक पर्यटन पनि झण्डै शून्यकै जस्तै छ । यो अवधिमा पर्यटन व्यवसायीले ठूलै तनाव र आर्थिक अभावसमेत भोग्नुपर्ने परिस्थिति पनि सिर्जना भयो । पर्यटनमा आवद्ध लाखौं जनशक्तिले रोजगारी गुमाए ।
पर्यटन क्षेत्रले अर्बौं रुपैयाँको नोक्सानी बेहोर्नुपर्यो । अब पर्यटन व्यवसायलाई चहलपहल गराउनकै लागि भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनु अति आवश्यक भएको छ । नेपाल भौगोलिक हिसावले विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो । यो भूमि विविध पर्यटकीय सम्पदाका कारण पनि विश्वमाझ प्रसिद्ध छ । त्यसैले पनि पर्यटनको विस्तारमा लाग्नु पर्दछ । पर्यटन क्षेत्र खुलेसँगै कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई गति दिन आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने किसिमका होमस्टे, स्थानीय स्रोत र साधनकै प्रयोग गरी पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको प्रवद्र्धन गर्नु जरूरी देखिन्छ ।