Shittalpati
माल पाएर चाल नपाएका हामी !

दुर्गा प्रसाद अर्याल

भूपरिवेष्ठित तर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो नेपाल । यति सानो देश तर यति धेरै भौगोलिक विविधता भएको देश संसारमा विरलै भेटिन्छन् । नेपाललाई प्रकृितले दिएको उपहार हेर्दा एक मनले भन्न मन लाग्छ नेपालमा के छैन ? तर लंकामा सुन छ कान मेरो बुच्चै भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै स्रोत र साधन परिचालन सम्वन्धी प्रभावकारी योजना बनाउन नसकी न्यून आर्थिक वृद्धि, न्यून प्रतिव्यक्ती आय, न्यून कुल ग्राहस्थ उत्पादनको अवस्थालाई अगालदै अल्पविकसित देशको विल्ला लिदै हामीले हाम्रा कष्टकर दैनिकी विताई रहेका छौं । प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक भएर पनि कच्चा पदार्थ लगायतका खाद्यन्नमा हामी परनिर्भरताले गाजी रहेका छौं । प्राकृतिक सम्पदा भएर पनि खोज अनुसन्धान, अन्वेषण, स्पष्ट योजना र कानुनी व्यवस्थाको अभाव, दक्ष जनशक्ती लगायत उपयुक्त प्रविधिको अभावमा माल पाएर चाल नपाएको अवस्थामा हामी गुर्जिरहेका छौ । यिनै प्राकृतिक स्रोत साधन र यसका विविध पक्षका बारेमा यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ ।

प्राकतिक स्रोत र साधनको चर्चा गर्दा सर्वप्रथम नेपालमा रहेका केही प्राकृतिक स्रोत र साधनको चर्चा गर्दा उपयुक्त हुन सक्छ । हावा, पानी, प्रकाश, जल सम्पदा, खनीज सम्पदा र वन सम्पदा नेपालका केहि प्राकृतिक स्रोत साधन हुन । फलाम खानी–फूलचोकी, ठोसेचितवन, कुलेखानी, भैसे, फपिङ लगायतका क्षेत्रमा पाइन्छ । त्यस्तै तामा खानी (कुलेखानी, बुद्धखोला, ब्राहबिसे, मार्फा, बन्दीपुर आदी क्षेत्रमा रहेका छन् । अभ्रक–भोजपुर, डोटी, चैनपुर, रसुवा, बझाङ लगायतका क्षेत्रमा पाइन्छ । चुनढूगा–नेपालको चुरे पर्वत श्रृखला र महाभारत पर्वत श्रृखलामा पाईन्छ यो नेपालको सबै भन्दा बढी मात्रामा र प्रयोग भएको खनिज सम्पदा पनि हो । सीसा–गणेश हिमाल, फूलचोकी, मकवानपुर, मार्फा लगायतका क्षेत्रमा । जस्ता–गणेश हिमाल, फूलचोकी, माजेर खोला, नाम्पा लगायतका क्षेत्रमा । गन्धक–चिसापानी, गढी, गोसाइकुण्ड, बराहक्षेत्र । खरी–सिन्धुपाल्चोक, खोटाङ, भोजपुर । स्लेट–वन्दीपुर, बागमती, लुम्बिनी लगायतका क्षेत्रमा । मार्वल–गोदावरी, महाभारत श्रृखला । कोइला–दाङ, चौतारा, चीतवन आदि क्षेत्रमा । पेट्रोलियम पदार्थ–कोइलावास, मुक्तिनाथ, दैलेख, प्युठान । सुन–सुनकोशी, बुढीगण्डकी, कालीगण्डकी आदि क्षेत्रमा । कोवाल्ट–पाल्पा, गुल्मी, धनकुटा । सोडा–सल्यान, डोटी क्षेत्रमा । सिधे नुन, विरेनुन–रसुवा आदि क्षेत्रमा पाईने गर्दछन् । यस बाहेक पछिल्लो समय मुस्ताङमा युरेनीयमको ठूलो परिमाण भएको पत्तालागेको छ । उत्खन्न र प्रयोगको कुरा त छोडौ यी खनिज सम्पदा कहाँ र कति मात्रामा छन् त्यो पनि पत्ता लगाई दिने काम हाम्रा दातृ राष्ट्रहरुले गरिदिएको पाईन्छ । हामीसँग प्रसस्त मात्रामा प्राकृत्तिक स्रोत र साधन हुँदा हुँदै पनि यसको प्रभावकारी प्रयोगको अभावमा आर्थिक स्रोतमा वृद्धि ल्याउन सकिरहेका छैनौं । हाम्रा प्राकृतिक स्रोत साधनको महत्व विद्यालय, विश्व विद्यालयका पाठ्यक्रममा राखेर घोकाउनु बाहेक अन्य व्यवहारिक महत्व दिन सकिरहेका छैनौं । मुस्ताङमा युरेनियमको खानी भेटियो हामी खुशी साटासाट गर्दछौ तर उत्खन्न र परिचालनको अभावमा फेरि उहि पाठयक्रमको विषयवस्तुमा यसलाई सिमित राख्न पुग्दछौ । नेपालमा चुनढुंगा, मार्वल, खरी, जिङक, फलाम, सुन, रत्नपथर, अभ्रक, सीसा, ग्राभेल, तामा, कोइला, युरेनियम, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास तथा कोइला केहि खनिज सम्पदाहरु हुन यिनी कहाँ छन् त्यसको बारेमा माथी उल्लेख गरिसकिएको छ । जसले हाम्रो आर्थिक अवस्थालाई माथि उठाउन सहयोग पुर्‍याउने प्रसस्त सम्भावना थियो तर सामान्य अध्ययन, अनुसन्धान र अनवेषण बाहेक यसलाई व्यवसायिक रुपमा परिणत गर्न सकिएको छैन ।

नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना हुँदा हुँदै पनि चुनढुगा, फलामको उत्खन्न र परिचालनमा आशिंक सफलता प्राप्त भएको छ भने यस्ता स्रोत र साधनको परिचालनको योजना बनाउन नसक्दा/परिचालन गरी आर्थिक स्रोत बनाउन नसक्दा आज पनि नेपाली जनता सिमित आर्थिक स्रोतका कारण कष्टकर दैनीकीमा गुर्जिन बाध्य भएका छन् । हाम्रा बजेट तथा योजनामा वैदेशीक ऋण तथा अनुदानको अशं अत्याधिक रुपमा बब्दै गएको पाईन्छ । केहि शहर र देशका सुगम ठाउँका जनतालाई हेरेर होइन देशको दुर्गम क्षेत्रका जनताको दैनीकी पर्याप्त स्रोत साधनको अभावमा कष्टकर विताई रहेका छन् । जलस्रोतको विश्वमै दोस्रो धनी देश नेपाल ६ हजार नदीनाला निरन्तर बगिरहेका छन् तर सिंचाई सुविधाको अभावमा खेती गर्ने बेलामा मनसुन कुर्दै आकाश तिर हेर्न बाध्य हुन्छौ हामी अझै भएन भने महादेव पुकारन, भ्याकुताको विवाह गराउन पनि पछि पर्दनौ । शुद्ध पिउने पानी पिउन नपाउने अवस्थामा हामी गुर्जिरहेका छौ । एक गाग्री पानीका लागि विहान विताउने अवस्थामा हामी हाम्रो दैनीकी विताई रहेका छौ । साथै ती नदीनालाबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने क्षमता छ भने आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२ हजार मेगाबाट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ ।

यीनै कुरा गरेर हामीले कल्पनामा दिन विताई रहेका छौ । अझै पनि करीव ३३ प्रतिशत नेपालीले विद्युत सेवा उपभोग गर्न पाएका छैनन् भने पाएकाले पनि गुणस्तर विद्युत सेवा उपभोग गर्न पाएका छैनन् । सन १९६८ बाट विद्युत उत्पादन गरेको नेपालले करीव ५० वर्ष वित्दा ११४२ मेगाबाट मात्र विद्युत उत्पादन गर्न सक्षम भएको छ । जलविद्युत उत्पादन क्षमता बढाई उद्योग धन्दाको विकास र विस्तार गर्ने र बढी भएको विद्युत वाह्य देशमा निर्यात गरी ह्वााईट डलर कमाउने नेपालीले देखेको सपना सपनामानै सिमित रहेको छ । अनि कल्पनामा बर्षौ देखी दिन विताउन बाध्य भएका छौ । हरियो वन नेपालको धन । बाल्यकालदेखि नै सुन्दै र पढ्दै आएको भनाई हो तर यो भनाईलाई भनाईमा नै सिमित राखिरहेका छौ । आवश्यक ऐन कानुनको अभावमा हाम्रो हरियो बनलाई धनमा परिणत गर्न सकेका छैनौ । हाल नेपालमा ४४.७४ प्रतिशत भू–भाग वनजगलले ढाकेको छ । जगलका काठ निकासी गरी अरवौ राजश्व देश भित्र भित्र्याउन सकिने सम्भावनालाई बेवास्ता गर्दै जगलमै कुहाई रहेका छौ । सामान्य नागरिकले आफ्नै जग्गामा उम्रेको साल लगायतका रुखका काठ आफ्नै घर बनाउने प्रयोजनका लागि प्रयोग गर्न नपाई विदेशबाट झ्याल, ढोका आयात गरी देशको राजश्वलाई विदेशमा पठाइरहेका छौ । यसमा सुधार र व्यवस्थित गर्ने तर्फ हाम्रो ध्यान जानपनि सकेको छैन ।

प्रकृतिले दिएको उव्जाउ हुने खाद्यन्नको भण्डार मानिने तराई लगाएत पहाडका खेतीयोग्य भूमि प्लटिङका नाममा बाझै राखेका छौ अनि खाद्यन्न अभावलाई मेटाउन विभिन्न देशबाट अरबौको धान, गहुँ लगायतका खाद्यन्न आयात गरी रहेका छौं अनि परनिर्भरतालाई झन झन वृद्धि गर्दै लगिरहेका छौ । सगरमाथाको उचाई देश भित्र भएकोमा गर्व गर्दछौ तर विश्वमा यो उचाई नेपालमा पर्दछ भनेर यसको प्रचारप्रसार गर्न पनि सकेका छैनौ । गौतम वुद्धको देश भनेर गर्व गर्दछौ यसको प्रचारमा हामी गुमनाम छौ । वुद्धका उपदेश र धर्मलाई हामी अन्य देशमा निर्यात गरीरहेका छौं । त्यसको विकल्पमा आर्थिक प्रलोभनमा परेर इसाई धर्म प्रति आकर्षित भै रहेका छौं । सगरमाथा र गौतम वुद्धको देश भनेर विश्वलाई चिनाउदै पर्यटक भित्र्याई विदेशी डलर देश भित्र भित्र्याउनमा हामी चुकेका छौ । घर भरी खाद्यन्न भएर कुटाउने पिसाउने कार्यमा अल्छी गरी पसलबाट खरीद गरेर उपभोग गरे जस्तै भएका छन् नेपालका प्राकृतिक स्रोत र साधनहरु । भन्नलाई छ, लेख्नलाई छ भएन भनेर गफ लगाउनलाई पनि छ तर प्रयोग गर्ने बेलामा अन्य राष्ट्र तिर भरपर्नु पर्ने अवस्थामा छन् हाम्रा प्राकृतिक स्रोत साधनहरु । प्राकृतिक स्रोत साधन हाम्रा अमुल्य राजश्वका स्रोतहरु हुन । यसको उपभोग गर्ने अधिकार पनि हामी माथि नै छ । हाम्रो देशको आर्थिक वृद्धि, प्रतिव्यक्ती आय, कुल ग्राहस्थ उत्पादनमा वृद्धि र जनताको जीवनस्तरमा सुधार ल्याउने प्रमूख स्रोतको रुपमा पनि यसलाई लिन सकिन्छ । नेपाल सरकार, सरकारका सल्लाहकार, योजनाविद्ध, अर्थशास्त्री आदिको सहभागितामा आवश्यक ऐन, कानुन र योजनाको निमार्ण गरी स्रोत र साधनको अन्वेषण, उत्खन्न र परिचालन गरी नेपाललाई विकासोन्मूख देशबाट विकसीत देशमा रुपान्तरण गर्ने की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update