Shittalpati
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो । पोषण सम्बन्धी ज्ञान, सीप अभिवृद्धिसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहज होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

तालिमको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै अध्यक्ष बस्यालले समुदायस्तरमा उपलब्ध अर्गानिक पोषण सामग्री प्रयोग गराउँदै गाउँपालिकाका नागरिकमा सहज स्वास्थ्य सेवा प्रवाहका लागि तालिमले भूमिका खेल्नुपर्ने बताए । उनले बजेट सक्ने गरी कार्यक्रम गर्नुभन्दा पनि कार्यान्वयन पक्षलाई फलदायी बनाउन सकिएमा तालिमको औचित्य रहने धारणा व्यक्त गरे । अध्यक्ष बस्यालले गाउँपालिकामा सहज स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । स्वास्थ्य सेवाको अभावमा गाउँपालिका भित्रका कोही पनि नागरिक ग्रस्त हुनु पर्दैन भन्ने सन्देश प्रवाह गर्नेगरी स्वास्थ्यकर्मी लाग्नुपर्ने बस्यालको भनाई थियो ।

शुभारम्भ कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रतिनिधि प्रभास पन्थी, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, शिक्षा शाखा प्रमुख गुनाराम खनाल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बच्चाको पोषण अवस्था सुधार गर्दै कुपोषण कम गर्न तालिमले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न समेत उनीहरुले स्वास्थ्यकर्मीलाई सुझाव दिए । सुआहाराको सहयोग, स्वास्थ्य कार्यालयको समन्वय र बगनासकाली गाउँपालिकाको आयोजनामा भएको बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता विकास तालिम सात दिनसम्म चल्ने छ । तालिममा गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा कार्यरत २५ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update