पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
२७ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ७४ पुगेको छ । जसमा २ हजार ४ सय ४७ महिला र ३ हजार ८ सय २७ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय १ जनामा एन्टिजेन परीक्षण गरिएको ११ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ५, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ३ र रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ७० पुगेको छ । जहाँ २ हजार ५६ जना महिला र १ हजार ९ सय १४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १० जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका २, रिब्दीकोट, तिनाउ, निस्दी, रम्भाका १/१ र रैनादेवी छहराका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ८ सय ७० पुगेको छ । यहाँ अहिलेसम्म २ सय ३३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ७५ जना महिला र १ सय ५८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । जिल्लामा अहिलेसम्म १ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २६ जना होम आइसोलेसनमा रहेका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।