Shittalpati
जेष्ठ नागरिकलाई बोझ नसम्झौं

उमेर बढ्दै गएपछि मानिस वृद्ध अवस्थामा पुग्दछ । यो सत्यको एउटा पाटो हो । तर यो उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति पनि हो । मानिस प्राणीका रूपमा जन्मन्छ र मर्दा मानिस हुन्छ । उसले यसक्रममा सामाजिकीकरणका विविध यात्रा तय गरेको हुन्छ । जेष्ठ नागरिक त्यसैले अनुभवका खानी हुन् । श्रुति, नीति वा उखान र किम्वदन्ती अग्रजबाट अनुज पुस्तामा हस्तान्तरण हुने भएकाले जेष्ठ नागरिक समाजका शिक्षक पनि हुन् । इतिहास निर्माणमा जेष्ठ नागरिकको योगदान रहन्छ । समयले बालकलाई वृद्ध बनाउँछ । समय अनुभवको शृङ्खला भएकाले जेष्ठ नागरिकका अनुभवलाई विकासको मार्गदर्शक बनाउन सकिन्छ । तर नेपाली समाजमा जेष्ठ नागरिकलाई बोझका रुपमा लिने गरिन्छ । यो अत्यन्त दुखको कुरा हो । जन्म दिएका सन्ततिले नै वृद्ध आमाबाबुलाई बोझका रुपमा लिनु विडम्बना हो ।

आर्थिक दृष्टिकोणले निष्क्रिय हुने भएकाले जेष्ठ नागरिकलाई घरपरिवार र समाजले पनि बोझकै रूपमा हेर्ने परम्परा अझै हट्न सकेको छैन । जेष्ठ नागरिकले घरकुरुवा अथवा बालबालिकालाई हेरचाह गर्ने कार्यमा गरेको योगदानलाई गणना नै गर्ने गरिएको छैन । सामाजिक सुरक्षाको लागि हरेक वर्ष आर्थिक भार बढ्दै गएकाले सम्भवतः राज्यले पनि जेष्ठ नागरिकहरूलाई बोझकै रूपमा हेरेको हुनुपर्छ । जेष्ठ नागरिकलाई सम्मान गर्ने सिलसिलामा नेपालले सन् २००७ देखि हरेक वर्षको अक्टोबर १ तारिकका दिन जेष्ठ नागरिक दिवस मनाउन थालेको छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । तर हरेक वर्ष यो दिवस मनाउने गरे पनि जेष्ठ नागरिक अझै पनि अपहेलित हुनु पर्ने अवस्था छ । उनीहरु आफ्नै छोराछोरीहरुबाटै अपहेलित हुनुपर्ने अवस्था आउनु दुखद् हो । मानिस बूढो हुनु अपराध होइन, एक दिन सबै बूढो अवश्य हुन्छ, यो धुव्र सत्य कुरा हो । हाम्रो देशमा जेष्ठ नागरिकप्रति परिवार, समाज र राज्यको भूमिका कमजोर छ । देशमा वृद्ध/वृद्धामैत्री कानुनको अभाव छ । उनीहरुले राज्यमा सम्मानजनक बाँच्न पाएका छैनन् । कुनै न कुनै किसिमबाट अपहेलना र तिरस्कृत हुनुपरेको छ । नेपालको कानुनले बुबा आमाको सम्पत्ति माथि छोराछोरीको हक लाग्ने संंवैधानिक ग्यारेन्टी गरेको छ । तर तिनलाई उचित्त स्याहार गरेर पाल्नु पर्ने बाध्यकारी व्यवस्था उल्लेख गरेको पाईदैन । जेष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने हो भने जेष्ठ नागरिकहरू सामाजिक तथा आर्थिकरूपमा पनि बोझ नभई वरदान सावित हुने छन् । जेष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्छ । तसर्थ जेष्ठ नागरिकलाई बोझका रुपमा नभई बरदानको रुपमा स्वीकार गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update