Shittalpati
दरबार छोडेर चौरमा आउनु हाम्रो बाध्यता : पाण्डे

पाल्पा, नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानको रक्षाका लागि दरवार छोडेर आफुहरु चौर आउनु रहर नभई बाध्यता भएको बताएका हुन् ।

केपी शर्माको दम्भका कारण पार्टी एकता हुन नसकेको प्रति संकेत गर्दै उनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई बोरामा राखेर विष्णुमतीमा बगाइएको बताए । नेता पाण्डेले भने ‘ओलीको दम्भ र अंहकारका कारण पार्टी एकताले पूर्णता नपाउदै विघटन गरिएको हो ।’ पार्टी विभाजन भाद्र ९ गते नभई पुस ५ गते नै विभाजन भएको उनले स्पष्ट पारे । ओली प्रधानमन्त्री हुँदा धेरै बोरा पैसा लुटेको आरोप लगाउदै नेता पाण्डेले भने‘ पैसाको आडमा निर्वाचन जित्ने भन्दै ओलीले संसद् विघटन गरेका हुन् ।’

कार्यक्रममा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले दलिय व्यवस्थामा दल कमजोर हुनु भनेको व्यवस्था कमजोर हुने बताए । उनले ओलीका कारण दल कमजोर भन्दै गएको आरोप लगाए । उनले भने‘ओली विधी पद्दती अनुरुप कहिल्यै चलेनन्, त्यसैको प्रतिस्वरुप यो विद्रोह गरी नयाँ पार्टीको जन्म भएको हो ।’ ओलीले बहुमत पाएर पनि काम गर्न नसकेको भन्दै उनले काम गर्नेहरुलाई समेत काम गर्ने वातावरण सिर्जना नगरी कार्यकर्तामा भ्रम छर्ने काम गरेको बताए ।

नेता पाण्डेले नेकपा एसको विधान भिम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले संशोधन गरे तर पछिल्लो समयमा उनैले धोका दिएको स्पष्ट पारे । कार्यक्रममा नेकपा एसको केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरे,एसका नेताहरु लेखनाथ पोखरले,कमल पाण्डे, मोहनलाल गहिरे लगायतले आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा नेकपा एसले विभिन्न भातृसंगठन समेत गठन गरेको छ । आशिष श्रेष्ठको संयोजकत्वमा ७५ सदस्यीय युवा संघ, नारायणी खनालको संयोजकत्वमा महिला संघ, उमेश भण्डारीको संयोजकत्वमा अ‍ेनरास्ववीयू समाजवादी गठन गरिएको नेकपा एसले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update