पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
७ जनाको पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । जसमा रामपुर नगरपालिकाका एक जना महिला रहेकी छन् । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ६९ पुगेको छ । जसमा २ हजार ५ सय ५ महिला र ३ हजार ८ सय ६४ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २९ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ४ र रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ७९ पुगेको छ । जहाँ २ हजार १ सय १६ जना महिला र १ हजार ९ सय ६३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार ९ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् । तानसेनका ७, माथागढीका ५, रम्भा र रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ९६ पुगेको छ । जसमा ५ हजार ६ सय ४९ महिला, ४ हजार ४ सय ४७ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५२ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८५ जना महिला र १ सय ६७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ७६ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।