शान्ति
अर्पणा रेग्मी
पाल्पा (हाल –बैङ्गलोर)
धर्तीको यो उरबर भूमी शान्तिको बीज छर्नु
ह्वौं नेपाली सकल जगमा राष्ट्रको शान गर्नु ।
आऔँ सारौँ समझ सबमा बुद्धको दिव्य ज्ञान
नेपाली हौँ अगमपथमा विश्व यो सत्य जान ।।
लाखौँ हामी अटल गिरिको भूमिमा प्राण भर्छौ
नेपालीको सकल दिलमा ज्ञानको ज्योति छर्छौ ।
लड्छौ–बढ्छौ अघि–अघि नयाँ पत्र पल्टाइ हेरौँ
यो हाम्रो हो सरल धर्ती भाग चम्काई हेरौँ ।।
सन्ध्या आई हिमशिखरमा रश्मिको कान्ति छाँया
सुन्दरताको नवलहरमा देशको निम्ति माया ।
आशा नौला रहर मनमा चाख नौलो जगाई
हाम्रै गाउँ सहर सबमा शान्तिको गीत गाई ।।
भिजेका ती नयन उनका आँसु झारीरहेछिन् ।
आमा हाम्री कमल मनकी न्याय मागीरहेछिन् ।
हे नेपाली नविन पलको सत्यको राज खोजौँ
हत्या–हिंसा नभन अब ता शान्तिको पक्ष रोजौँ ।।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्