Shittalpati
माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति समेत रहेका रानाले बुधबबार नेपाल तरुण दल पाल्पाले स्थापना दिवसको अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।

युवाहरुले फूलको माला लगाएर गरेको सम्मानको कदर गर्दै मन्त्री रानाले फूलको माला ओइलाएर गए पनि युवाहरुको मनलाई ओइलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नो राजनीतिक यात्रा पनि तरुणदलबाटै सुरु भएको स्मरण गर्दै आफ्नो राजनीतिक यात्रा रहेसम्म युवाहरुको मनलाई कहिल्यै पनि विचल्लित हुन नदिने बताए । मन्त्री रानाले भने ‘तरुण दलको इतिहासलाई हेर्दा मुलुकको ऐतिहासिक परिवर्तनमा युवाहरुले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।’ तरुण दलकै जगमा टेकेर आफु अहिले यो अवस्थामा आइपुगेको स्मरण गर्दैै मन्त्री रानाले आफु आत्मनिर्भर र सक्षम भई संगठन निर्माण र विस्तारमा लाग्न युवाहरुलाई आग्रह गरे । उनले युवाहरुलाई व्यवसायिक र स्वदेशमै स्वरोजगार बनाउने दिशामा प्रदेश सरकारमा केही योजनाहरु समेत अघि सारेको बताए । मन्त्री रानाले आफ्नो मन्त्रालय सानो भए ता पनि नयाँ सोंच र योजनाका साथ अगाडि बढेको बताउदै युवाहरुलाई स्वदेशमै व्यवसायसँग सँगै राजनीतिक गर्ने वातावरण सिर्जना गरिने बताए । उनले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको समेत बताए । मन्त्री रानाले भने ‘उज्यालो प्रदेश बनाउने अभियान पाल्पाबाटै सुरुवात गरिने छ ।’ कृषि विकासको आधार सिँचाइ भएकाले सिँचाइमा सुधार गर्दै जानेमा उनले जोड दिए । विगतका बर्षहरूमा कृषकहरू मन्त्रालयको कार्पेट टेक्नु पर्ने परिस्थिति रहेको बताउँदै मन्त्री रानाले अब त्यस्तो परिस्थिती नरहने बताए । उनले भने ‘अब कृषक मन्त्रालयको कार्पेट टेक्न आउने होइन, कर्मचारी कृषकको खेतबारीमा माटो टेक्न पुग्नुपर्छ भनेर कर्मचारीलाई निर्देशन समेत दिएको छु ।’ कार्यक्रममा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य राजनप्रसाद पन्तले सही मूल्य र मान्यतामा अडिग रहेर राजनीतिक गर्न युवा नेतृत्वलाई आग्रह गरे । उनले पछिल्लो समय नेपालको राजनीति गलत दिशातर्फ उन्मुख भएकाले युवाहरु त्यसतर्फ नलाग्न उनले सुझाव दिए । राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण रहेकाले सही मूल्य र मान्यतामा अगाडि बढ्न उनले युवाहरुलाई आग्रह गरे । नेपाली काँग्रेसका जिल्ला सचिवहरु झेपेन्द्र गहिरे, अजयमान कर्मचार्य, वरिष्ठ नेता राजेन्द्र गोपाल सिंह, नेपाल महिला संघकी जिल्ला सभापति गंगा पौड्याल लगायतले युवा कमजोर भए पार्टी कमजोर हुने भन्दै संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिन तरुण दल पाल्पालाई आग्रह गरे । सोही अवसरमा तरुण दलले दिर्घरोगीहरुका लागि आर्थिक सहयोग गरेको छ ।

आफ्नो ६८ औं स्थापना दिवसको अवसरमा ६जना दिर्घरोगीहरुलाई दश हजार एक सयका दरले आर्थिक सहयोग गरेको हो । तरुण दलले निस्दीका मृगौला पीडित बादल राना, तानसेनका मुटु रोगी लक्ष्मी नेपाली, सम्राट राना, रामपुरका ब्लड क्यान्सर पीडित अंकित राना, तानसेनका आशिष महर्जन र रिब्दीकोटका राजन सुनारलाई आर्थिक सहयोग गरेको छ । उसले आर्थिक सहयोग गर्ने ३५ जना सहयोगी दाताहरुलाई सम्मान समेत गरेको छ । तरुण दलका सभापति मेजर सिं केशीको अध्यक्षता, उप–सभापति सुनिल बस्यालको धन्यवाद, कुमार खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update