Shittalpati
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो । १६ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१ र बगनासकाली गाउँपालिकाका २ जना रहेका छन् । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ४९ पुगेको छ । जसमा २ हजार ५ सय ४१ महिला र ३ हजार ९ सय ८ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ । १ सय ९३ जनामा परीक्षण गरिएकोमा १७ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ५, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका ३, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार १ सय ४१ पुगेको छ । जहाँ २ हजार १ सय ५१ जना महिला र १ हजार ९ सय ९० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका ७, पूर्वखोला, रैनादेवी छहरा, रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार २ सय ५६ पुगेको छ । जसमा ५ हजार ७ सय ३२ महिला, ४ हजार ५ सय २४ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७१ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ७५ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ६७ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update