पाल्पा, आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ ।
कार्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरुले पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गरी जलाशयहरुलाई दुलहीझैं सिंगारेका छन् । छठपर्वको पहिलो दिन सोमबार नहायखाय विधि सम्पन्न गरिएको छ । कार्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए । त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।
कार्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात् पर्वको दोस्रो दिन खरना विधि गरिएको छ । खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरी खरना विधि सम्पन्न गरिएको छ । त्यस्तै षष्ठी तिथी अर्थात् पर्वको तेस्रोदिन आज अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन गरिन्छ ।