Shittalpati
अमर नारायण मन्दिरको सरसफाइ

पाल्पा, तासेनमा रहेको ऐतिहासिक अमर नारायण मन्दिरको सरसफाइ गरिएको छ । मन्दिरको छानामा उम्रिएको झार उखेल्नुको साथै मन्दिर परिसरको सरसफाइ गरिएको हो ।

अमर नारायण गुठी व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना गोरखदल गणले सरसफाइ गरेको हो । दैनिक रुपमा पूजाआजा हुँदै आएको उक्त मन्दिरको सौन्दर्यता कायम राख्न नेपाली सेनाको सहयोगमा हरेक वर्ष सरसफाइ गरिदै आएको गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रामहरी अर्यालले बताए । उनका अनुसार विहीबार गोरखदल गणका मेजर समृद्धजंग थापाको नेतृत्वमा आएको सेनाको टोलीले मन्दिर सरसफाइ गरेको हो । मन्दिरको ४० फिट अग्लो छानाको सरसफाइ गर्न कठिन हुने भएकाले सेनाको सहयोगमा सरसफाइए गर्ने गरिएको गुठीका उपाध्यक्ष अर्यालले बताए । विसं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा रहेको छ ।

मन्दिर सञ्चालन गर्नका लागि गुठीको व्यवस्था समेत गरिएको छ । नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । यिनैले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएको बताइन्छ । सेनाले नारायणस्थानमै रहेको शिवालय मन्दिरमा समेत सरसफाइ गरेको छ । उसले मन्दिर परिसर र छानामा उम्रिएको झारलाई पूर्ण रुपमा हटाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update