रामचन्द्र रायमाझी
पाल्पा(माथागढी), पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत ५ वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । उनको आर्थिक अवस्था निकै नै नाजुक भएकाले स्वास्थ्य परीक्षण गर्न सकेकी थिइनन् । जिल्लाका अस्पतालमा सामन्य उपचार गराए पनि मुटु सम्बन्धी उपचारका लागि बाहिर जान पैसा नभएकाले परियार त्यत्तिकै घरमै बसेकी थिइन् । शुक्रबार गाउँपालिकाले निःशुल्क मुटु परीक्षण गरिदिने खबर थाहा पाएपछि उनी विहानै गाडी चढेर गाउँपालिकाको केन्द्रस्थित किसान मावि पुगिन । किसान माविमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उनले स्वास्थ्य परीक्षण गराईन् । स्वास्थ्य परीक्षणमा उनको मुटुमा समस्या देखियो । सारुलाई डाक्टरले परामर्शपछि निःशुल्क औषधि दिएपछि उत्साहित हुँदै घर फर्किन ।
माथागढी ३ की ५० वर्षीय चन्द्रदेवी कामी पनि आर्थिक अभावले लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नै नगरी बसेकी थिइन् । मुटुमा समस्या भएको थाहा हुँदा हुँदै पनि पैसा नहुँदा स्वास्थ्य परीक्षणका लागि उनी अस्पताल पुग्न सकेकी थिइनन् । गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएर उनले स्वास्थ्य परीक्षण गराईन् । स्वास्थ्य परीक्षण गर्दा उनमा मुटु सम्बन्धी समस्या देखियो । उनलाई पनि डाक्टरले सल्लाह दिएर औषधि दिए । उनी निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र औषधि पाए पछि उत्साहित हुँदै घर फर्किन ।
माथागढी ४ की प्रगति पोखरेलको अवस्था पनि उस्तै हो । उनी पनि आर्थिक अवस्था कमजोर भएका कारण मुटु परीक्षण नगरी बसेकी थिइन् । गाउँमै सञ्चालन भएको शिविरमा आएर उनले निःशुल्क उपचार गर्न पाउँदा भने खुसी छन् । परियार,कामी र पोखरेल मात्रा होइनन् यहाँका अधिकांस मुटुका विरामीहरु आर्थिक अभावमा स्वास्थ्य परीक्षण गर्नबाट बञ्चित हुनु परेको थियो । तर गाउँपालिकाले विभिन्न संघसंस्थाहरुको समन्वयमा विशेषज्ञ सेवा नपाएका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरे पछि भने यहाँका नागरिक उत्साहित भएका छन् ।
गाउँपालिकाले सेभ द हार्टको आयोजना र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा शुक्रबारदेखि २ दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले पहिलो दिन शुक्रबार १ हजार ७ सय २५ जनाको मुटु परीक्षण गरेको थियो । एक सय ७० जनाको ईको र एक सय ९५ जनाले इसिजी गराएका थिए । परीक्षण गराएकामध्ये करिब १ सय भन्दा बढीमा मुटुसम्बन्धी समस्या देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । मुटु रोगको जटिल समस्या भएका ३० जनालाई भने थप उपचारका लागि काठमाडौं रिफर गरिएको उनले बताए । परीक्षण गर्दा विद्यार्थीहरुमा पनि मुटु सम्बन्धी समस्या देखिएको छ । गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न संघसंस्थाहरुको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष थापाको भनाई छ । उनले मुटु रोगीहरुका लागि शिविर महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । अध्यक्ष थापाले आर्थिक रुपमा विपन्न नागरिक जसको उपचारमा पहुँच पुग्दैन त्यस्ता बिरामीका लागि शिविर निकै लाभदायी हुने बताए । यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला बताउँछन् । उनले मुटु संवेदनशिल अंग भएकाले समस्या देखिएमा तुरुन्त परीक्षण गर्नुपर्ने बताए ।
गाउँ–गाउँमा पुगेर मुटु रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघ संस्था र स्थानीय सरकारहरुको समन्वयमा शिविरहरु सञ्चालन गरिदै आएको सेभ द हार्टका प्रमुख तथा सह–प्रा.डा.अनिल भट्टराईले बताए । उनले मुटु सम्बन्धित समस्या देखिएर शल्यक्रिया गर्नु पर्ने अवस्था आएका विरामीहरुका लागि आफुहरुले आर्थिक सहयोग समेत गर्ने बताए । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले गाउँमै आएको अवसरको सदुपयोग गर्न गाउँपालिकावासीलाई आग्रह गरिन् । शिविर शनिबार पनि सञ्चालन हुने छ । गाउँपालिकाले शिविरमा आउन जानका लागि यातायातको व्यवस्था समेत मिलाएको छ । शिविरमा ३ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।