पाल्पा(माथागढी), पाल्पाको माथागढी गाउँपालिकामा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरमा २ हजार ७ सय ९५ जनाले मुटु परीक्षण गराएका छन् । गाउँपालिकाले सेभ द हार्टको आयोजना र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित २ दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरमा २ हजार ७ सय ९५ जनाले मुटु परीक्षण गराएका हुन् ।
शनिबारसम्म सञ्चालन भएको शिविरमा मुटु परीक्षण गराएका मध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौं रिफर गरिएको छ । रिफर गरिएका मध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार ४ सय २८ जनाको इसिजी र ३ सय ८१ जनाको इको गराइएको छ । परीक्षण गर्दा विद्यार्थीहरुमा पनि मुटु सम्बन्धी समस्या देखिएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको थियो । शिविरमा पाल्पाका १० वटै स्थानीय तहका मुटु रोगीहरुले परीक्षण गराएका थिए । गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न संघसंस्थाहरुको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आर्थिक रुपमा विपन्न नागरिक जसको उपचारमा पहुँच पुग्दैन त्यस्ता बिरामीका लागि शिविर निकै लाभदायी भएको गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले शिविरमा आउन जानका लागि यातायातको व्यवस्था समेत मिलाएको थियो ।