पाल्पा, नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–१ वडा कार्यालयले देउराली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री दिएको छ । काँग्रेसले कोरोना महामारी कायमै रहेकाले विभिन्न संघसंस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यचौकीलाई दिएको हो ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच काँग्रेसले उक्त स्वास्थ्य सामग्री वितरण गरेको । नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजनप्रसाद पन्तले स्वास्थ्यचौकी प्रमुख सिता लामिछानेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उनले महामारीमा खटिने स्वास्थ्यकर्मीहरुका लागि मास्क, सेनिटाइजर, ग्लोवस लगायतका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि समेत रहेका पन्तले कोरोना संक्रमणको अवस्था अझै पनि कायमै रहेकाले उच्च सर्तकताका साथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले हरेक दुख,सुखमा सधै जनतासँग हातेमालो गर्दै अगाडि बढ्ने गरेको बताए । पन्तले काँग्रेस वडाले स्वास्थ्य सुरक्षाका सामग्री स्वास्थ्यचौकीलाई दिएर प्रशसनिय कार्य गरेको बताउदै अगामी दिनमा पनि यस्तै सहयोग र रचनात्मक कार्यमा लाग्न वडा तहका नेताहरुलाई आग्रह गरे । कार्यक्रममा काँग्रेसका वडा सभापति ओमप्रसाद पोखरेल,नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, महिला संघकी सभापति कान्ता अधिकारी, स्वास्थ्यचौकी प्रमुख सीता लामिछाने लगायतले कोभिड नियन्त्रणमा स्वास्थ्य सुरक्षा सामग्रीले थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । काँग्रेसका नेता रामचन्द्र पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।