कृष्ण पोखरेल
पाल्पा, पाल्पामा बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण आएको छ । कार्तिकमा परेको बेमौसमी बर्षाको कारण कृषकहरुले लगाएको धानवालीमा तीन करोड बढीको क्षति गरेको छ । पाल्पा कृषि ज्ञान केन्द्रका अनुसार ३ दिनसम्म परेको अविरल बर्षाको कारण यहाँ ३ करोड ४० लाख बराबरको धान नोक्सान भएको हो । यहाँका १ हजार २ सय ७६ जना कृषकहरुको धान खेतीमा नोक्सान पुर्याएको भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन् ।
कृषि ज्ञान केन्द्र पाल्पाले स्थानीय तहका कृषि शाखाको सहयोगमा गरेको स्थलगत अध्यन अनुसन्धानबाट ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाएको धानवाली क्षति गरेको विवरण संकलन गरेको छ । कृषि ज्ञान केन्द्रले संकलन गरेको हानी नोक्सानीको विवरणलाई पुनः जिल्ला विपद व्यबस्थापन समिति पाल्पाले पुनः अनुगमन गरी प्रमाणित गरेर गृह मन्त्रालयमा पठाएको छ । कृषि ज्ञान केन्द्र पाल्पाले लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयमा क्षतिको विवरण पेश गरेको छ । पाल्पामा कृषकहरुको १३ हजार ९ सय २१ क्वीन्टल धान नोक्सानी भएको छ । यहाँका १० पालिकाहरु मध्ये सबैभन्दा बढी तिनाउ गाउँपालिकामा बेमौसमी बर्षाले धान खेतीमा नोक्सान पुर्याएको छ । तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ । चार हजार ९ सय क्वीन्टलको १ करोड १८ लाख ९२ हजार रुपैयाँको धान नोक्सानी भएको छ ।
रैनादेवी छहरा गाउँपालिकामा १ सय ९४ जना कृषकको १ हजार २ सय १८ रोपनीमा २ हजार ३ सय ८३ क्विन्टल धानको ४० लाख ४६ हजार रुपैयाँको धान नोक्सान भएको छ । यसैगरी पूर्वखोला गाउँपालिकामा २ सय ३३ जना कृषकको १ हजार १ सय ९२ रोपनीमा २ हजार २ सय ९८ क्वीन्टल धानको ६३ लाख १७ हजार २ सय १८ रुपैयाँको धान नोक्सानी भएको छ । बगनासकाली गाउँपालिकामा ४९ जना कृषकको ३ सय २३ रोपनीमा ९ सय २८.५ क्वीन्टलको २६ लाख ३६ हजार ३ सय २५ रुपैयाँ धानवाली नोक्सान भएको छ । माथागढी गाउँपालिकामा १ सय २४ जना कृषकको ८ सय १० रोपनीमा १ हजार ६ सय ८० क्वीन्टलको ४२ लाख ४६ हजार ८ सय ५८ रुपैयाँको धान नोक्सान भएको छ । यसैगरी निस्दी गाउँपालिकामा ८७ जना कृषकको ३ सय ५२ रोपनी क्षेत्रफलमा ८ सय ३२ क्वीन्टल धान २३ लाख ७१ हजार ७ सय ७० रुपैयाँको नोक्सान भएको छ । रिब्दीकोट गाउँपालिकामा ६९ जना कृषकको १ सय ८१ रोपनीमा ३ सय २७ क्वीन्टल धानको १० लाख २८ हजार ५ सय ७५ रुपैयाँ बरावरको नोक्सानी भएको छ । तानसेन नगरपालिकामा ४३ जना कृषकको १ सय ८९ रोपनीमा ३ सय ५३ क्वीन्टल धानको ९ लाख ७२ हजार २ सय ३५ रुपैयाँ नोक्सानी भएको छ । रम्भा गाउँपालिकामा ४६ जना कृषकको १ सय ११ रोपनीमा ६८ क्वीन्टल धानको ३ लाख ४० हजार ४ सय रुपैयाँ नोक्सानी भएको छ ।
रामपुर नगरपालिकामा १६ जना कृषकको २६ रोपनी खेतमा ५० क्वीन्टल धानको १ लाख ५१ हजार ५ सय रुपैयाँ नोक्सानी भएको छ । पाल्पाका १० वटै स्थानीय तहमा संकलन गरेको क्षतिको विवरणमा स्थानीय बजारको दररेट अनुसारको मूल्य निर्धारण गरी क्षतिपूर्तिको लागि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख अधिकारीले बताइन् । समयमै बर्षात् भएको र पर्याप्त मात्रामा पानी परेकोले सबै खेतमा धान उत्पादन वृद्धि हुने आशा गरिए पनि बेमौसमी बर्षात्ले धान उत्पादन घट्ने देखिएको छ । पाल्पामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।