Shittalpati
फलामका किटले खनजोतमा समस्या

कृष्ण दर्नाल
पाल्पा, पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।

बारी कृषि उत्पादन वृद्धिका लागि खन्दा कोदालोमा फलामका बेकार वस्तु ठोकिने समस्या रहिआएको सुनारको भनाइ थियो । वर्षेनि खनजोतमा निकै समस्या भएकोले मेलापात गर्न अरु मानिस आउन दुःख मान्ने अनुभव स्थानीयवासीको छ । छापको डाँडादेखि करिब २ सय मिटर तल्लो भागको भिरालो जमिन खानी छ । खानीबाट निकालिएको ढुङ्गा बस्ती नजिक लगेर प्रशोधन गरिएकाले किटले अन्नवाली उत्पादनमा कमी हुन्छ । नेपाल एकीकरण बेला पाल्पा शक्तिशाली राज्यका रुपमा स्थापित थियो । युद्वका निम्ति चाहिने हातहतियारमा पाल्पा राज्य आत्मनिर्भर रहेको पाइन्छ । स्थानीय डिलबहादुर सुनारका अनुसार गर्मी र जाडो मौसममा फरक–फरक स्थानमा फलाम प्रशोधन गरिएको पाइन्छ । फरक स्थानमा प्रशोधन गरिएकाले त्यसका असर डाँडाबारी र डाँडापारीका बारीमा खेती गर्न अझै समस्या भएको सुनारले बताए । तरबार, खुँडा, खुकुरी लगायतका अन्य हतियार उत्पादन गरी युद्वमा प्रयोग भएको इतिहासमा उल्लेख छ । पाल्पा तानसेन नगरपालिकाको छापमा रहेको खानीबाट ढुङ्गा निकालेर प्रशोधन गरिएको फलामको हतियार उत्पादन गरी युद्वमा प्रयोग भएको स्थानीयवासी राजेशकुमार अर्यालले बताए । सेनकालीन समयमा प्रयोग भएको यो खानीलाई पुनःसञ्चालनमा ल्याउनुपर्ने अर्यालको भनाई छ । खानीसम्म पुग्न सडकको सहज पहुँच छैन । छापका स्थानीयवासी नुहाउन जाने गोरेटो बाटोदेखि करिब १० मिटर माथि खानी छ । जंगलको बीच भागमा रहेको खानीमा दुम्सीको बासस्थान रहेको छ । दुम्सीले माटो फालेकोले अहिले प्रवेशद्वार नै साँघुरो बनेको स्थानीयबासिन्दा तथा वडा सदस्य कुलबहादुर थापाले बताए । प्रवेशद्वार साँघुरो भएपनि भित्र निकै फराकिलो रहेको थापाले बताए ।

यहाँबाट ढुा डाँडाबस्ती नजिकै लगेर प्रशोधन गरी फलाम निकालिएको बूढापाकाले बताएको र त्यसको असर अझै पनि बारीमा देखिएको थापाले बताए । सेनकालीन राज्य पाल्पालाई चाहिने हातहतियार छापमा उत्पादन हुँदै आएको थियो । त्यहाँका विश्वकर्मा जातिले उत्पादन गरेका हतियार युद्वका निम्ति सैनिकलाई हस्तान्तरण गरेको इतिहास छ । सेनकालीन फलाम खानीको फेरि उत्खनन् हुनुपर्ने माग छ । इतिहासविद् निर्मल श्रेष्ठले खानी आसपासका क्षेत्रमा फलामको काम गर्ने विश्वकर्मा जाति र गोलन्दासको बस्ती छ । विश्वकर्मा जातिले कृषि उत्पादनका निम्ति चाहिने औजारको निर्माण सम्बन्धी काम गर्दै आएका छन् । गोलन्दास बाग्लुङबाट छापमा बसाइँसराइ गरी आएको पाइन्छ । गोलन्दास दक्ष सैनिकसँग सम्बन्धित पद हो । गोलन्दास त्यस क्षेत्रको खानीको सुरक्षा गर्न आएकोे हुनसक्ने बताइन्छ । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update