पाल्पा, सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।
अफ्रिका र अन्य केही मुलुकमा तिव्ररुपमा फैलिरहेको ओमिक्रोन हालसम्म नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो गरिएको मन्त्रालयले जनाएको छ । यस्तै ओमिक्रोन भेरियन्टलाई नेपाल प्रवेश गर्न नदिन सबै निकायबाट एक भएर काम भइरहेको मन्त्रालयले जनाएको छ । यसका साथसाथै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।
केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ–२ भेरियएन्ट ओमिक्रोन) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरिएण्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि अनुरोध गरिएको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।