पाल्पा, कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरबाट एकै दिन ५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ५ हजार २ सय ९५ जनामा पीसीआर परीक्षण गर्दा २ सय २० जनामा संक्रमण देखिएको हो । १ हजार ५ सय २ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । एन्टिजेन र पीसीआर गरी ६ हजार ७ सय ९७ परीक्षण गर्दा २ सय ३८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३ सय ९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५ सय ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ३० हजार ६ सय ८८ जनाले खोप लगाएका छन् ।