Shittalpati
निजी स्वास्थ्य संस्थाका कारण समस्या : मन्त्री खतिवडा

प्रकाश नेपाल
पाल्पा, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निजी स्वास्थ्य संस्थाले बिमाको नाममा धेरै रकम माग दावी गरेको बताएका छन् । निजी स्वास्थ्य संस्थाले बिरामीलाई आवश्यक भन्दा बढी औषधी दिने गरेको र आवश्यक भन्दा बढी रकम दावी गरेको मन्त्री खतिवडाले बताए । उनले यस विषयमा सरकार गम्भीर भएको समेत जानकारी दिए । शुक्रबार तानसेनको पाल्पा अस्पताल निरीक्षण तथा अनुगमन गर्ने क्रममा मन्त्री खतिवडाले देशभरिका निजी स्वास्थ्य संस्थाले बढी रकम दावी गर्दा भुक्तानीमा समस्या भएको स्पष्ट पारे । उनले बिमा वापतको थप रकम अर्थ मन्त्रालयसँग माग गरिएको बताउँदै अघिल्लो आर्थिक वर्षसम्मको केही रकम भुक्तानी भइसकेको जानकारी दिए ।

अस्पताल निरीक्षणको क्रममा मन्त्री खतिवडाले पाल्पा अस्पताल निकै पुरानो ऐतिहासिक अस्पताल भएकाले यसको संरचना सम्भव भएसम्म जोगाउनुपर्ने बताए । सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य प्राविधिकहरूले सुविधा सम्पन्न र पायक पर्ने ठाउँ रोज्ने भएकोले यस्ता अस्पतालहरूमा आवश्यक स्वास्थ्य प्राविधिकको दरबन्दी भएपनि प्राविधिक नहुनु देशभरिकै समस्या भएको बताए । उनले यस विषयमा सरकार गम्भीर रहेको र सरकारले स्वास्थ्यमा देखिएको समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीको मृत्यु भएको छ, त्यस्ता बिरामीको परिवारले राहत स्वरूप सरकारबाट पाउने रकम नपाएकोले रकम उपलब्ध गराउन मन्त्रीसँग आग्रह गरे ।

पाल्पा अस्पतालका प्रमुख डा.जगदीश कुँवरले अस्पतालको समस्याको बारेमा मन्त्रीलाई जानकारी गराउँदै अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि रकम निकासा गर्न, अक्सिजन प्लान्ट निर्माणका क्रममा सरकाले स्वीकृत गरेको बजेटको सुनिश्चितता नहुँदा प्लान्ट जडान गर्ने कम्पनीलाई रकम भुक्तानी गर्न नसकेको हुनाले रकम उपलब्ध गराउन आग्रह गरे । अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउन नसकेको र त्यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन डा.कुँवरले मन्त्री खतिवडालाई आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update