कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलदै छ । विभिन्न भेरियन्टले थलिएर भर्खरै तग्रिदै गरेको विश्व समुदाय पुनःत्रसित छन् । हालसम्म कसैको मृत्यु नभएपनि संक्रमण छिटो फैलँदै छ । अहिले लक्षण पनि सामान्य छन् । तर, यस अघिका कोभिडका तीन भेरियन्टको असरलाई नियाल्दा यसको पनि लक्षण नथपिएला भन्न सकिँदैन । दक्षिण अफ्रिकाबाट सुरु भएर २३ राष्ट्रमा पुगेको ओमिक्रोनले नेपाललाई पनि छोएको छ । यो सतर्क रहने समय हो । लक्षण सामान्य भनेर खेलाँची गरे ठूलो रूपमा मानवीय असर गर्न सक्छ । सतर्कता नै अहिलेको पहिलो आवश्यकता भएकाले यसको नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।
तीव्र गतिमा फैलन सक्ने अतिसंक्रामक यो भेरियन्ट नेपालमा भित्रिइसकेपछि यो अब फैलने क्रम कसरी रोक्ने भन्ने चिन्ता सबैतिर देखिएको छ । यदि यो भाइरसले नेपाली जीनमा प्रवेश गर्ने र आफूलाई अनुकूल बनाउने मौका पायो भने यो हावा चले जसरी नेपालभर फैलने देखिएको छ । योभन्दा पनि अझ गम्भीर कुरा त के पनि देखिएको छ भने ओमिक्रोन भाइरस विश्व स्वास्थ्य संगठनले यसको नाम र यसबाट हुन सक्ने गतिशील संक्रामकता घोषणा गर्नुपूर्व नै यो उत्परिवर्तनको भाइरस नेपालमा प्रवेश गरिसकेको पाइएको छ । भाइरस समय समयमा फैलिरहन्छ । यसबाट आतिनेभन्दा पनि सचेत हुने र संक्रमणबाट जोगिने हो । खोपको मात्रा नपुगेकाले खोप लगाउने र डोज पूरा गर्ने हो । सरकार नियन्त्रणको तयारीमा र नागरिक सचेत बन्नु नै अहिलेको आवश्यकता हो । अझैं ‘पर्ख र हेर’को अवस्था भइरहेका बेला नेपालमा यो भाइरस भित्रिइसकेकाले यसको फैलावट रोकथामका लागि सम्बन्धित निकायले तत्काल उच्च सर्तकता अपनाउनुपर्दछ । नेपालको जनस्वास्थ्यमा गम्भीर असर पु¥याउनु अघि नै यसको फैलावटलाई रोक्ने थप वैकल्पिक उपायहरू खोजिनु र व्यवहारमा लागू गरिनु अहिलेको अपरिहार्यता हो ।