काठमाडौं,नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् । उनले ३ हजार २३ मत र शर्माले १९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार ४३ मत वदर भएको छ । कुल ४ हजार ६ सय ८२ मत खसेको थियो । गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए । शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो । महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५६, प्रदिप पौडेलले १३ सय ९३, डा. मिनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गरे । यस्तै, महामन्त्रीका अर्का उम्मेदवार राजारामले १ सय ६ मत पाए ।
महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन् । यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।