Shittalpati
महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ?

पाल्पा, नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन् । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ । त्यतिमात्र हैन उनीप्रतिको युवा भरोसा अझ बढेको छ ।

नेपाली विद्यार्थी आन्दोलनबाट स्थापित भएका विश्वप्रकाश वैचारिक क्षमता भएका प्रखर वक्ताका रुपमा चिनिन्छन् । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका उनी २०३७ सालमा विद्यालय पढ्दादेखि नै राजनीतिमा सक्रिय थिए । प्रजातान्त्रिक आस्था, समाजवादी विचारधारा र वीपी कोइरालाको विचारबाट प्रेरित शर्मा साहित्य र संगीत क्षेत्रमा पनि उत्तिकै परिचित छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रका स्नातकोत्तर हुन् । प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भए पनि उच्च राजनीतिक संस्कार देखाएको भन्दै ताली पाएका उनी कांग्रेसको प्रवक्तासमेत भएर काम गरिसकेका छन् ।

कुनै वंश–विरासत नभइ आफ्नै मेहनत र लगावले राजनीतिमा आएका उनी आफूलाई भुइँबाट उठेको नेताका रुपमा चित्रण गर्ने गर्छन् । त्यतिमात्र होइन उनी भुइँमान्छेसँगै रमाउने प्रेम, स्नेह र विवेकको राजनीतिमा घुलमिल हुन रुचाउने गरेको बताउँदै आएका छन् । कुनै समय रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ को सम्पादक भएर काम गरेका उनी पछिल्लो समय ‘ऐना’ नामक चर्चित टेलिभिजन कार्यक्रममार्फत थप ख्याती कमाउँदै गएका थिए । प्रष्ट वक्ता, वैचारिक क्षमता साथै मिडियामैत्री स्वभावका उनी वीपी कोइरालाको जीवनशैली र व्यवहारलाई पछ्याउन रुचाउँछन् । २०४० सालमा धुलाबारी माविमा नेविसंघ इकाइ सभापति भएपछि सक्रिय राजनीतिमा उत्रिएका उनी २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका उनी २०४८ सालमा नेविसंघ केन्द्रीय सदस्य बनेर केन्द्रीय राजनीतिमा स्थापित बनेका हुन् । २०५३ मा नेविसंघ महामन्त्री, २०५३ मा उपसभापति साथै २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका उनी सभापति भएकै बेला कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर कांग्रेसको राजनीतिमा उदाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update