पाल्पा, नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता गगन थापा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा उनले सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
जन्म २०३३ सालमा काठमाडौँमा जन्मिएका उनी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर विद्यार्थी राजनीतिमा लागेका थिए । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी विद्यार्थी राजनीतिमा लागेका हुन् । विसं २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनले राजनीतिमै सक्रिय हुने अठोट गरे । स्ववियुमा सदस्य सचिव हुँदै सभापति बनेका उनी २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढेको हो ।
दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा एक सभासदको रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित थापालाई नेपाली कांग्रेसको भाबी सभापतिको रूपमा समेत हेरिएको छ ।