बुटवल, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय स्थानीय राजधानी दाङमा सरेको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा मुकाम तोकेर सञ्चालन हुँदै आएको मन्त्रालय बुधबारदेखि राप्ती दाङमा सरेको हो । मन्त्रालय सरेसँगै दाङको सिसहनियामा कार्यालय स्थापना गरी कार्यसम्पादन हुँदै आएको छ ।
अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरू गर्ने तयारी थालेका छन् । यसअघि पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि राप्ती उपत्यकाको लालमटियामा स्थापना भइसकेको छ । राजधानी क्षेत्रबाट नै प्रदेश विकास प्राधिकरणले आफ्नो काम सञ्चालन गरिसकेको छ । स्वास्थ्य मन्त्रालयको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले संघ सरकार र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरू भएको भन्दै स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम थालिएको बताए । मन्त्री थारूले कोभिडको तेस्रो भेरिएन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको व्यवस्थाको लागि पहल गरिरहेको समेत बताए ।