पाल्पा, आज योमरी पुन्ही । देशभरका नेवार समुदायले घर–घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । आइतबार नेवार समुदायले यो पर्वलाई हर्सोल्लासका साथ मनाउन लागेका हुन् । तिहारमा देउसी/भैलो खेल जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बच्चादेखि बूढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाई, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान प्रदानको रुपमा पनि लिने गरिएको छ । योमरी एक विशेष प्रकारको रोटी हो । योमरी पुन्हीका दिन गृहणलीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी/मिठाइ रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली बताउँछन् । उनका अनुसार सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको हो । यसरी बनाइएको योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । यसरी चढाएको योमरी चारदिनपछिमात्र प्रसादका रुपमा बाँडेर खाने चलन रहेको छ । नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढिकुटी पुजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ । नेवारी समुदायको पहिलो मिठाई वा रोटी योमरी हो । आजका दिन दान गर्नाले धर्म हुने विश्वासका साथ नेपारी गीत गाउँदै नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ । यो पर्व काठमाडौंमा धुमधामका साथ मनाइए पनि पाल्पामा भने घरमै सिमित रुपमा मनाइदै आइएको पाइन्छ ।
नेवार समुदायले प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन विशेष प्रकारको रोटी योमरी पकाएर खाई योमरी पुन्ही मनाउँने गर्दछन् । विशेष प्रकारले बनाइने यो रोटीभित्र चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो राखिन्छ । यो पूर्णिमाको विशेषता नै योमरी पकाएर खानु हो । त्यसकारण यस दिन अन्य पूर्णिमा जस्तो भोज खाइँदैन । बरु योमरी खाइन्छ । यो दिन नियमित जस्तो खाना खान नहुने विश्वास छ । योमरी विशेष स्वादिलो हुन्छ । योमरी विशेष आकार प्रकारमा बनाइन्छ । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । धेरैजसोले त्रिकोण आकारमा योमरी बनाउँछन् । वर्षको पहिलो धानको चामलबाट पिठो तयार गरी योमरी बनाइन्छ । यो पर्वका दिन नेवार समुदायमा विशेष उल्लास हुन्छ । प्रतिष्ठानका अध्यक्ष देउरालीका अनुसार अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ उनको छ ।