Shittalpati
पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा ८३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । पाँच वर्षमा २ लाख १७ हजार ९२ अर्थात् ८३ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका हुन् । दुई नगरपालिका र ८ गाउँपालिकाका रहेको यहाँ १ लाख १३ हजार ४ सय ४२ जना महिला र १ लाख ३ हजार ५ सय ५३ जना पुरुषले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड पाल्पाले जनाएको छ ।

बोर्डका अनुसार माथागढी गाउँपालिकामा १६ हजार १ सय ५२, पूर्वखोला गाउँपालिकामा १० हजार १ सय २२, निस्दी गाउँपालिकामा ७ हजार ६ सय ६१, रामपुर नगरपालिकामा २२ हजार १६, रम्भा गाउँपालिकामा १३ हजार ८ सय, बगनासकाली गाउँपालिकामा १७ हजार ७ सय ७७, तानसेन नगरपालिकामा ५४ हजार ३ सय ७२, तिनाउ गाउँपालिकामा ७ हजार ६ सय ६६, रिब्दीकोट गाउँपालिकामा १३ हजार ३ सय ६२ र रैनादेवी छहरा गाउँपालिकामा १४ हजार ३ सय ७७ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम २०७३ देखि जिल्लामा सुरु गरेको थियो । २ लाख ६१ हजार १ सय ८० कूल जनसंख्या रहेको पाल्पामा १७ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमामा सहभागी हुन सकेका छैनन् । यहाँ २७ हजार ८ सय २२ जना जेष्ठ नागरिक, ५ सय ५९ जना पूर्ण अपाता भएका, १ सय ४९ जना एचआइभी संक्रमित,१ जना टिभी रोगी र १० जना कुष्ठरोगीहरुको निःशुल्क बिमा गरिदिएको बोर्डले जनाएको छ । ४ सय ३६ जना स्वयंसेविकाको भने ५० प्रतिशत सरकारले व्यहोर्ने छ ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रति परिवारबाट वार्षिक ३ हजार ५ सय बुझाउनुपर्दछ । बिमा गरे बापत राज्यले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा दिने नीति लिएको छ । ५ जनाको परिवारलाई एउटा परिवार मान्ने गरेको छ । जिल्लाका ४ वटा विभिन्न स्वास्थ्य संस्थाले बिमितलाई प्रथम सेवा केन्द्र विन्दुको रुपमा सेवा दिइरहेको स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख यम बहादुर चिदीले बताए । उनका अनुसार पाल्पा अस्पताल, रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ, खस्यौली स्वास्थ्य केन्द्रलाई प्रथम सेवा केन्द्र बिन्दु तोकिएको छ । सेवा प्रदायक संस्थाबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी नहुँदा भने जिल्लामा बिमितहरुले सास्ती भोग्नु परेको छ । नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपनि प्रभावकारी बन्न सकेको छैन । स्वास्थ्य बिमाको नाममा रिफर लिन सास्ती खेप्नु परेको आमनागरिकको गुनासो छ । प्रथम केन्द्र विन्दु बाहेक अन्यत्र जानका लागि रिफर कार्ड चाहिने हुँदा नागरिकले सहजै पाउन नसक्दा सास्ती खेप्नु परेको हो । सरकारी स्वास्थ्य संस्थामा गएका बिमितहरुको स्वास्थ्य परीक्षण बिना मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि रिफर दिइदैन । जसका कारण विरामीले एक दिन सरकारी अस्पताल र अर्को दिन आफुले चाहेको अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । प्रथम सेवा केन्द्र विन्दु रहेका स्वास्थ्य संस्थाहरुले सिफारिस गरे वापत बिमितको बिमा रकमबाट प्रतिव्यक्ति २ सय रुपैयाँ काट्ने गर्दछन् । यस कार्यक्रम मार्फत सरकारको अरबौं रुपैयाँ खर्च भएको छ । सरकारको नीति स्पष्ट भए पनि आमजनताको बुझाई र कार्यन्वयन गलत रहेको जिल्ला बोर्ड प्रमुख चिदीले बताए ।

उनले भने ‘सरकारी स्वास्थ्य संस्था जहाँ मेडिकल अधिकृतको दरबन्दी छ त्यहाँ प्रथम सेवा बिन्दु तोकिएको छ, तर प्रथम सेवा बिन्दुमा बिमा भन्ना साथ रिफर गर्ने प्रवृृति छ, त्यसले बीमितहरुलाई अप्ठारो पारेको हो, सम्बन्धित डाक्टरको परीक्षण बिना रिफर गर्ने प्रवृति छ । त्यसमा पनि बिरामी नभए पनि पहुँचको आधारमा रिफर गरिदिने परिपाटी बसेको छ । बिमीतहरु स्वास्थ्य परीक्षणका लागि गएका स्वास्थ्य संस्थामा मेडिकल अधिकृत भन्दा तलकाले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।’ राष्ट्रियस्तरको तथ्याड्ढ अनुसार पाल्पाको कार्य प्रगति अत्यन्त राम्रो छ । तर यहाँ पनि समस्या छ । दुईजना कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु परेको छ । ६ जनाले गर्नुपर्ने काम दुई जनाले गर्दा आफुहरुलाई समस्या भएको कार्यालय प्रमुख चिदीले बताए । उनले भने ‘आफ्नो समय भन्ने नै छैन । दैनिक रिर्पोट घरमा गएर हो गर्ने, विदा पर्व भन्ने नै छैन ।’ ८० जना जना दर्ता सहयोगी मार्फत जिल्लामा बिमा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update