Shittalpati
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

काठमाडौं, नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रले जानकारी दिए । यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो ।

यसैगरी गत २४ घण्टामा कूल सात हजार २ सय ३३ नमूनाको पिसिआर परीक्षण गर्दा २ सय १७ जना संक्रमित भएका पाइएको छ । चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्ला २४ घण्टामा २ सय ७२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । चार हजार ९ सय ४८ होम आइसोलेसन र संस्थागत २ सय ३७ गरी पाँच हजार १ सय ८५ जना आइसोलेसनमा रहेका बताइएको छ । –रासस

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update